सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण विक्रम शाही शीर्षस्थानमा
काठमाडाैँ । सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५–अण्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् ।
उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे । गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिन आज तोरणले राम्रो सुरुवात गरे । बोगी रहित फ्रन्ट नाइन खेले । तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । यसपछि दशौं होलमा एक सट खेर फाले । तर यसपछि १२ औं, १३औं र १५ औं होलमा एक–एक सट बचाएर ब्याक नाइन २–अण्डर ३४ मा सकाए । यसरी पहिलो दिन ६ बर्डी र एक बोगी प्रहार गर्दै तोरण पहिलो दिन शीर्षस्थानमा रहे ।
नेपाल नम्बर एक प्रो भुवनले पनि फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गरे । पहिलो, तेस्रो र सातौं होलको बर्डीले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । उनले ब्याक नाइनमा तीन बर्डी प्रहार गरेपनि दुई बोगी खेपे । ब्याक नाइनमा मात्र १–अन्डर ३५ को स्कोर निकाले। १०औं, १६औं र १७ औं होलमा एक–एक सट बचाए । तर १४ औं र १८ औं होलमा बोगी प्रहार गरे । ब्याक नाइनको दुई बोगीको कारण उनले शीर्षस्थान गुमाए ।
सुनिल केसीले शुरूवात भने राम्रो गर्न सकेनन् । उनले फ्रन्ट नाइन १–ओभर ३७ मा पूरा गरे । पाँचौं र छैटौं होलमा एक–एक सट खेर फाले भने सातौं होलमा बर्डी प्रहार गरे। यसपछि ब्याक नाइनमा आज उनले सानदार प्रदर्शन गरे । ११ औं देखि १४ औं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गर्दा १८ औं होलमा पनि एक सट बचाए। ब्याक नाइन ५–अन्डर ३१ मा पूरा गर्दा ४–अन्डर ६८ को स्कोरकार्ड तयार पारे ।
प्रतियोगितामा ३–अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे। यस्तै २–अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा पाँचौ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन। एमेच्योरतर्फ राहुल २–अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई ३ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे । १–ओभर ७३ सहित विजय दोस्रो स्थानमा छन। डिफेन्डिङ च्याम्पियन तथा दाबेदार सदभाव आचार्य भने २–ओभर ७४ सहित तेस्रो स्थानमा छन् ।
चार दिनसम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र १३ प्रोफेसनल गरी कुल ४७ खेलाडीको सहभागीता रहेको छ । ३६ होलपछि कट लागू हुनेछ । प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन् । —न्युज एजेन्सी नेपाल