१० मंसिर २०८१, सोमबार

हिरासतबाट रवि लामिछानेले भनेः सत्यलाई दबाउन सकिँदैन, अन्यायको सीमा नाघिसकेको छ

प्रकाशित मिति :  25 November, 2024 9:49 pm


काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो अवस्थाबारे सन्देश दिएका छन्। उनले आफूविरुद्ध केही मिडियाले सुनियोजित आक्रमण गर्दै गलत समाचार फैलाएको र संगठित षड्यन्त्र गरेको आरोप लगाएका छन्। लामिछानेले आफ्नो आवाज दबाउन खोजिएको भन्दै हिरासतमा रहँदा समेत सत्यको पक्षमा लड्ने आफ्नो दृढता प्रकट गरेका छन्।

चेक प्रकरणमा लामिछानेले आफू सहकारीबाट ऋण लिएको भन्ने आरोपलाई असत्य र निराधार रहेका बताएका छन्। उनका अनुसार, गोर्खा मिडियाका खाताबाट भएका भुक्तानी प्रचलित कम्पनी ऐन अनुसारकै छन्। कार्यकारी अध्यक्ष जिवी राईको निर्देशनमा कुनै चेक काटिएको हुनसक्ने उल्लेख गर्दै लामिछानेले पुराना विवरणहरू बुझ्न समय मागेको मात्र बताए। तर, यस विषयलाई तोडमोड गरेर प्रचार गरिएकोमा उनले असन्तोष व्यक्त गरे।

लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनलाई आधार दिँदै सहकारीबाट रकम ल्याउने प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। उनले आफूविरुद्ध भइरहेको प्रचारलाई कायरता र अन्यायपूर्ण भनेका छन्। सरकारी वकील कार्यालयले बयानका अधुरा अंशहरूलाई तोडमोड गरी मिडियामा चुहाएको आरोप लगाउँदै उनले यसलाई नियोजित षड्यन्त्रको रूपमा चित्रण गरेका छन्।

उनले भनेका छन्, “सत्यलाई शक्ति प्रदर्शनबाट दबाउन सकिँदैन। अन्यायका सीमा पार भइसकेका छन्। न्यायालयप्रति मेरो विश्वास छ र न्यायप्रेमी जनतामाथि भरोसा कायम छ।”

प्रधानमन्त्री र महान्यायाधिवक्तालाई ध्यानाकर्षण गराउँदै उनले आफ्नो विरुद्ध भइरहेको अन्यायपूर्ण व्यवहारलाई रोक्न आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस !