डिडिसी सुधारका लागि सक्दो प्रयास गर्दैछु: कृषिमन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास सस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरहेको बताएका छन् ।
आज मन्त्रालयमा राष्ट्रिय किसान संजालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तबरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यस्को नतिजा चाडै देखिने उल्लेख गरे । विगत देखिनै डिडिसीमा बेथिति रहेको र यसलाई अन्तय गर्न केही समय लाग्ने र यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारले उल्लेख गरे।
यो समयमा डिडिसीले दूध खरिदमा बिगत देखिनै कोटा निर्धारण गर्ने गरेको जानकारी आफूलाई आएको भएपनि किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड रहेको मन्त्री अधिकारीले बताए । “सरकारले अण्डा र मासुमा आत्मनिर्भर भए जस्तै दुधमा पनि आत्मनिर्भरको बिषय उठाउदै गर्दा किसानको दूध खरीद नगर्ने भन्ने कुरा हुन सक्दैन,”मन्त्री अधिकारीले भने ।
केही सञ्चार माध्यममा किसानको दूध सरकारी सस्थानले नकिनेको बिषय आएको तर दूध बिक्री नभएको गुनासो किसान मार्फत नआएको भए पनि यस विषयलाई आफुले गम्भीरता पूर्वक लिएको र केही दिनमा यथार्थ बाहिर ल्याउने पनि बताए । ज्ञापन पत्र बुझाउदै संजालले दूध , उखु ,सुपारी लगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।