रोल्पा नगरपालिकाले प्राप्त गर्यो उत्कृष्ट नगरपालिकाको उपाधि
कपिलवस्तु । नेपाल नगरपालिका संघको आयोजनामा लुम्बिनी प्रदेशको कपिलवस्तुको चन्द्रौटामा सम्पन्न स्थानीय तह खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको सुशासन सुदृढीकरण कार्यक्रममा रोल्पा नगरपालिकाले उत्कृष्ट नगरपालिकाको उपाधि हात पारेको छ। देशभरका नगरपालिकामध्ये रोल्पाले खानेपानी र स्वच्छता क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै यो सम्मान प्रदान गरिएको हो।
नगरपालिका संघका महासचिव नरूलाल चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्वच्छता र खानेपानी व्यवस्थापनमा नगरपालिकाहरूले थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले संघले आयोजना गरेको यो कार्यक्रम नगरहरूको दीर्घकालीन विकासमा योगदान पुर्याउने उद्देश्यले गरिएको बताए ।
रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ती, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम र वास्स फेक्ल प्रसन निशान आचार्यले नगरपालिकामा खानेपानी, सरसफाई र स्वच्छताका क्षेत्रमा गरेका प्रयासहरूबारे विस्तृत जानकारी दिएका थिए । उनीहरूले प्रस्तुति दिएका विषयहरूमाथि सहभागी अन्य नगर प्रमुख र उपप्रमुखहरूले अन्तरक्रिया गर्दै सिकाइ आदानप्रदान गरेका थिए।
कार्यक्रममा कानुनविद् काशीराज दाहालले फोहोर व्यवस्थापन, खानेपानीको उचित उपयोग र स्वच्छता कायम गर्न कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनबारे प्रस्तुति दिए ।
युनिसेफ, यूके-एड, खानेपानी तथा ढल व्यवस्थापन विभाग र लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयलगायतका सरोकारवाला निकायहरूको सहभागीता रहेको कार्यक्रममा दुई दर्जनभन्दा बढी नगर प्रमुख तथा उपप्रमुखले भाग लिएका थिए। रोल्पा नगरपालिकाको सफलताले खानेपानी, सरसफाई र स्वच्छता क्षेत्रलाई थप प्रभावकारी बनाउने प्रयासमा अन्य नगरपालिकाहरूलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ। साे विषयमा नगरप्रमुख सूरेन्द्र थापा घर्तीले सीमित स्रोतसाधन भएतापनि पालिकाले गरेका कामहरूमा इमानदारीता भएकाले उपाधि जित्न सफल भएकाे बताए ।