११ मंसिर २०८१, मंगलबार

क्रसर महासंघको नयाँ कार्यसमितिले गर्‍यो पदभार ग्रहण

प्रकाशित मिति :  26 November, 2024 5:09 pm


काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका छन् ।

महोत्तरीको बर्दिवासमा आयोजित दशौं र एघारौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट महासंघको अध्यक्ष सीताराम न्यौपानेको अध्यक्षतामा चुनिएका २१ नयाँ कार्यसमिति सदस्यले आज काठमाडौँमा एक कार्यक्रमकाबिच पदभार ग्रहणसँगै सपथ लिएका हुन् ।

महासंघका अध्यक्ष न्यौपानेले सपथ ग्रहणपछि क्रसर उद्योगका समस्याहरू समाधान गर्ने र व्यवसायीहरूका हकहितको संरक्षणलाई प्राथमिकता दिने घोषणा गरे। उनले उद्योगप्रति रहेको नकारात्मक धारणा परिवर्तन गर्दै यसलाई व्यवस्थित बनाउने र राज्यसँग सहकार्य गरेर दीर्घकालीन संरचना सुनिश्चित गर्ने योजनाहरू अघि सारेकाे जानकारी गराए ।

नयाँ नेतृत्वको टिममा वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी(रामु दा), क्षेत्रीय उपाध्यक्षमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेशबाट रामनारायण प्रसाद यादव, बागमतीबाट देवराज लुइँटेल, गण्डकीबाट लीलाधर बराल र लुम्बिनीबाट मीनबहादुर शाही निर्वाचित हुनुभएको छ । त्यस्तै, महासचिवमा देवराज तामाङ चुनिएका थिए भने सचिव पदमा उम्मेदवारी नपरेकोले केन्द्रीय
कार्य समितिको प्रथम बैठकबाट रिक्त पदमा मनोनयन गरिने भएको छ ।

साथै, सह–सचिवमा बुद्धिप्रसाद आचार्य, कोषाध्यक्षमा वेचन ठाकुर वरही र सह–कोषाध्यक्षमा विनोदराज श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी सदस्यहरुमा हुमनाथ पौडेल, कुमार गिरी, तिलप्रसाद पाठक, अनोदकुमार देवकोटा, विकासनारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशिकुमार यादव र सन्तोष यादव निर्वाचित भएका थिए । महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

नयाँ नेतृत्वले उद्योगको नवीकरण प्रक्रियामा रहेको अन्योलता अन्त्य गर्न, व्यवसायीहरूको समस्यालाई सम्बोधन गर्न, र क्रसर उद्योगलाई तीन तहका सरकारबिच समन्वय गरेर दीर्घकालीन रूपमा व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।महासंघका अन्य पदाधिकारीहरूले पनि उद्योगको संरचना सुधार र व्यवसायीहरूको हित सुनिश्चित गर्न प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।



प्रतिक्रिया दिनुहोस !