नेपालमा रोजगारीको अवसर हुँदै नभएको भन्ने होइनः प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा रोजगारीको अवसर छैन भन्नेकुरा सही नभएको बताएका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर ट्रेड युनियन महासंघ (जिफन्ट) ले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा उपयुक्त खालको आकर्षक रोजगारीको अवसर भने नभएको सत्य भएको बताएका हुन् ।
नेपालमा रोजगारीको अवसर नभएर खाना नपाउने खालको हाहाकारस्थिति भयो भन्नेकुरा साच्चो नभएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले जनतालाई उपयुक्त खालको अवसर दिनका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्थालाई अघि बढाएको पनि स्मरण गराए ।
प्रधानमन्त्री ओलीले भने,”नेपालमा जब अपरच्युनिटी छँदैछैन भन्ने होइन । उपयुक्त खालको भएन, आकर्षक खालको भएन । एउटा कुरा त्यो हो । जब अपरच्यूनिटी नपाएर नेपालमा खाना नै नपाउने हाहाकारको स्थिति भयो भन्ने होइन । तर उपयुक्त खालको मान्छेले भनेजस्तो जब अपरच्युनिटी भएन । भनेजस्तो आकर्षक इन्कम भएन, वचतको स्थिति भएन । यी कुराहरू साँचो हुन । जुन अवस्थालाई बदल्नु पर्छ । र हामीले नयाँ ठाउँमा पुग्नुपर्दछ । यिनै प्रयासहरु अन्तर्गतको प्रयासको हो सामाजिक सुरक्षा । योगदानमा आधारित सामाजिक सुरक्षा ।”
प्रधानमन्त्री ओलीले नेपालमा कल्पना गर्न नसकिने खालको परिवर्तनहरू भएको दाबी समेत गरे ।