पौष ११ देखि १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुँदै
काठमाडाैँ । पर्यटकीय गन्तव्य सौराहामा आगामी पौष ११ गतेदेखि १५ गतेसम्म १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ ।
१८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको हो । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तीन वर्षसम्म रोकिएको महोत्सव गत वर्षदेखि निरन्तरता दिएको जानकारी दियो ।
पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ आगामी पौष ११ गतेदेखि १५ गतेसम्म गर्न लागिएको बताइन् । उनले महोत्सवमा हात्ती बनभोज,हात्ती फुटबल,हात्ती पोलो,हात्ति सुन्दरी प्रतियोगिता लगायत झाँक्री प्रदर्शनी गरिने बताइन् । उनले महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत हुने अध्यक्ष गिरीले बताइन् ।
महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी,स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बी–टु–बी कार्यक्रम, स्थानीय भेषभुष तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवद्र्धधनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।