महिलाहरूलाई राज्यका प्रणालीहरूमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती
काठमाडाैँ । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले महिलाहरूलाई राज्यका हरेक निकायहरूको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताएकी छन् ।
मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाहरूले अझै पनि राज्यका निकायहरूमा मुख्य जिम्मेवारी नभई कसैको सहयोगीको रुपमा जिम्मेवारी वहन गर्नुपर्ने स्थिति रहेको बताएकी हुन् । मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि महिलाको क्षमतामाथि शंका उपशंका गर्ने गरेको उनको भनाइ छ ।
उनले आफू सभामुख रहँदा तत्कालिन मन्त्री र राजनीतिक दलहरूले नै आफ्नो क्षमतामाथि आंशका गर्दा डर पैदा गराएको भएपनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गरेको बताइन् । महिलाहरूमाथि मानसिक समस्याहरू सिर्जना गर्ने वातावरणको अन्त्य गरी महिलाहरूका लागि राज्यका हरेक निकायहरूमा ढोका खोल्न आफू केही हदसम्म सफल रहेको उनको दाबी छ ।
छोरी भएकै कारण समाजमा भोग्नुपरेका पीडा र समस्याहरूको अन्त्य गर्न आफू राजनीतिमा लागेको दाबी गर्दै उनले आउँदो पुस्ताले बिना संघर्ष बाँच्न पाउने वातारणको सिर्जना गर्न सबै लाग्न एकजुट भएर लाग्न आवश्यक रहेको बताइन् । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले महिलाहरूको क्षमतामाथि प्रश्न उठाउनुभन्दा उनीहरूको क्षमता विकासमा जोड दिन आवश्यक रहेको बताइन् । उनले पटक पटकको आन्दोलनको उपलब्धी स्वरुप आज महिला अधिकार स्थापित भएको बताउँदै यसको स्वामित्व पनि सबैले पाउनुपर्ने बताइन् ।