१२ मंसिर २०८१, बुधबार

तीन जना प्राविधिक प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

प्रकाशित मिति :  27 November, 2024 4:47 pm


काठमाडाैँ । नेपाल सरकार गृहमन्त्रीस्तरको गत मंसिर ११ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ३ जना प्राविधिक प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबिच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधक प्रहरी नायव महानिरीक्षकहरूमा डा.दामोदर पौडेल, डा.मनोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे) रहेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदिय दायित्व र मर्यादाको घेरा बढ्दै जाने तथ्यलाई मनन गरी आगामी दिनमा समेत उत्कृष्ट जिम्मेवारी निर्वाह हुने गरी सक्रिय भूमिकाको अपेक्षा रहेको उनले व्यक्त गरे ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.दामोदर पौडेलले प्राप्त जिम्मेवारीलाई वहन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !