१२ मंसिर २०८१, बुधबार

निर्वाचन आचारसंहिताको उल्लंघन रोक्न काठमाडौँ र कीर्तिपुरमा अनुगमन टोली परिचालन

प्रकाशित मिति :  27 November, 2024 5:13 pm


काठमाडौँ । स्थानीय तह उपनिर्वाचन, २०८१ लाई स्वतन्त्र, निष्पक्ष र स्वच्छ वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ।

आचारसंहिता उल्लंघन भएको सूचना प्राप्त भएपछि काठमाडौँ महानगरपालिका वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा अनुगमन टोली परिचालन गरिएको छ।

निर्वाचन आयोगले मङ्सिर २ गतेदेखि लागू भएको आचारसंहिताको पालनामा कडाइ गर्न अनुगमन टोली खटाएको हो। काठमाडौँ जिल्लामा उम्मेदवारहरूले आचारसंहिताको उल्लंघन गरेको सूचना आएपछि दुई छुट्टाछुट्टै टोली गठन गरी अनुगमन गरिरहेको आयोगले जनाएको छ।

आयोगका अनुसार, काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का लागि सहसचिव नारायण प्रसाद सापकोटाको नेतृत्वमा टोली खटाइएको छ। यो टोलीमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, उपसचिव (कानून) सीता पुन श्रीष र प्रहरी उपरीक्षक सञ्जयसिंह थापा सदस्य छन्।

कीर्तिपुर नगरपालिकाका लागि प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीको नेतृत्वमा टोली परिचालन गरिएको छ। यस टोलीमा उपसचिव डा.थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने सदस्य रहेका छन्।

आयोगले आचारसंहिताको उल्लंघनमा संलग्नलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार कारबाही गर्ने बताएको छ। आयोगले निर्वाचन प्रक्रियामा धाँधली हुन नदिन अनुगमनलाई कडाइका साथ अघि बढाउने र गम्भीर उल्लंघन भएको अवस्थामा उम्मेदवारीसमेत रद्द गर्न सक्ने चेतावनी दिएको छ।

निर्वाचन प्रचारप्रसारमा कुनै किसिमको धाँधली हुन नदिन अनुगमन टोलीले स्थलगत रूपमा निगरानी गरिरहेको आयोगले जानकारी दिएको छ। स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न आयोगले सबै पक्षलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस !