१२ मंसिर २०८१, बुधबार

इ प्लानेट नेसनल हाईस्कुल टी टेन क्रिकेट हुँदै

प्रकाशित मिति :  27 November, 2024 6:12 pm


काठमाडाैँ । स्थानीय तहबाटै युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप ई प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ । हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा सातै प्रदेशबाट गरी कक्षा ११ र १२ का विद्यार्थीका लागि लक्षित हाई स्कुल टी टेन क्रिकेट हुन लागेको हो ।

हाइपएती इभेन्ट्सले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी माघ ९ देखि १२ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । त्यसअघि छनोट प्रतियोगिता आगामी पुस ३ गतेदेखि हुनेछ । ईटहरी, जनकपुर, बुटवल,पोखरा, सुर्खेत, धनगढी र काठमाडौंमा प्रदेश छनोट हुनेछन् । हाइपएतीको सिइओ एलिजा थापाले देशभरका कलेजलाई सहभागी गराउने उद्देश्यले सातै प्रदेशमा छनोट प्रतियोगिता गर्न लागिएको बताइन् । 

प्रतियोगितामा सात प्रदेश र एक आयोजक गरी कुल ८ टोलीले टी टेन क्रिकेटमा प्रतिष्पर्धा गर्ने जनाएको छ । छनोट र राष्ट्रिय प्रतियोगिता नकआउटका आधारमा हुनेछन् । ई प्लानेटका कार्यकारी चेयरमान नयन लामिछानेले नेपाली क्रिकेटको युवा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता शुरू गरेको बताए । यो प्रतिष्पर्धाबाट अवसर नपाएका कलेजका विद्यार्थीले राष्ट्रिय स्तरसम्म बाटो बनाउन भन्ने उद्देश्यले हाइ स्कुल क्रिकेटलाई प्रोत्साहन गरेको ई प्लानेटका चेयरमेनको भनाइ छ । ई प्लानेटका चिफ मार्केटिङ अफिसर सञ्जीव भण्डारीले राष्ट्रिय खेलाडी बनाउने माध्यम सिर्जना गर्न यस प्रतियोगिता आयोजना गरिएको र यसलाई आगामी दिन थप परिस्कृत रूपमा विकास गर्दै लैजाने योजना रहेको बताए ।

उनले युवा खेलाडीले आफूसँग भएको प्रतिभा देखाउन यो नै राम्रो अवसर रहेको उल्लेख गरे । छनोटको क्रममा प्रदेशको विजेताले ५० हजार रूपैयाँ पाउनेभएका छन् । राष्ट्रिय प्रतियोगिताको विजेताले एक लाख रूपैयाँ र उपविजेताले ५० हजार रूपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । विधागत उत्कृष्टले पनि १० हजार र ट्रफी पाउनेछन् । प्रतियोगितामा कुल ५७ वटा टोलीले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । यो प्रतियोगिताले नेपालभरका हाईस्कुल खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने भएकाले राष्ट्रिय खेलाडी बन्ने वातावरण पनि निर्माण हुने आशा गरेको छ । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !