उद्योगसँग सम्बन्धित ऐन,कानून र नीतिहरू लगानीमैत्री बनाउँछौंः उद्योगमन्त्री भण्डारी
काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डरीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानून र नीतिहरू लगानीमैत्री बनाउने बताएका छन् ।
बिहीवार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले सरकार निजी क्षेत्रको मनोबललाई उच्च बनाउँदै अर्थतन्त्रमा सुधार तथा आन्तरिक तथा वाह्य लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताएका हुन् । उनले सरकारले अहिले उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धि कम्पनी ऐन,औद्योगिक व्यवसायी ऐन,बौद्धिक सम्पती ऐन,खानी तथा खनिजसम्बन्धि ऐन,विशेष आर्थिक क्षेत्र ऐन,जग्गा प्राप्ती सम्बन्धि ऐन,सार्वजनिक खरिद ऐन र वन तथा वातारण ऐनलाई परिमार्जन गर्ने तयारीमा रहेको बताए ।
उनले यी ऐनहरुमा निजी क्षेत्रको सुझावको आधारमा परिमार्जन गर्नुपर्ने विषयलाई परिमार्जन गर्न सरकार तयार रहेको बताए । मन्त्री भण्डारीले नीति ऐन,कानूनमा रहेका समस्याको विषयमा निजी क्षेत्रले दिएका सुझावको आधारमा नीति निर्माण गरिने बताए । उनले आन्तरिक तथा वाह्य लगानीको लागि रहेका हडल्सहरुलाई सरकारले तत्काल समाधान गरी अगाडि बढ्ने बताए । उनले स्वदेशी लगानीलाई उत्साहित मनोवलका साथमा अगाडि बढ्ने बताए ।उनले निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति,ऐन कानून र सेवा प्रवाहरुको सहुलियतका विषयमा सरकार सकारात्मक रहेको बताए ।
उनले लगानीसँग सम्बन्धित मुलुकमा भएका कानून व्यवसायीहरुले मात्रै व्याख्या गर्नसक्ने खालका रहेको भन्दै वर्तमान सरकार नीति ऐन कानूनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको बताए । उनले हालै आएको मुलुकको कन्ट्री रेटिङ रिपोर्टले मुलुकमा लगानीमैत्री वातावरण रहेको देखाएकाले उत्साह छाएको बताए ।