१३ मंसिर २०८१, बिहिबार

देशमै रोजगारी सिर्जना गर्न सरकारलाई काँग्रेसको सुझाव

प्रकाशित मिति :  28 November, 2024 4:43 pm


काठमाडाैँ । नेपाली काँग्रेसले युवाहरूको भावना बुझेर देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव दिएको छ । काँग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म गरेको युवा संकल्प यात्राको निचोड सार्वजनिक गर्दै काँग्रेसले सो सुझाव पेश गरेको हो ।

बिहीवार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता शाहीले सरकारले छिटो भन्दा छिटो युवालाई रोजगारी सिर्जना हुने कामहरु गर्नुपर्ने माग आम जनता र युवाहरूको रहेको बताए । उनले बेरोजगारीको विकराल अवस्थाका कारण युवाहरू आक्रोशित भएको र युवाहरूको आक्रोशलाई नजरअन्दाज गर्दा भविष्यमा ठूलो विद्रोह पैदा हुनसक्ने चेतावनी दिए ।

उनले आफ्नो दलको सरकार रहेपनि आफूहरूले युवा, बेरोजगार पीडितहरुको पक्षमा, सहकारी पीडितको पक्षमा, महंगीको मारमा परेका आम जनताको पक्षमा, किसानको पक्षमा, मजदुरको पक्षमा आवाज उठाउनुपर्ने अवस्था रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं सडकमा चक्का जाम गरेर भाषण गर्नुपर्ने अवस्थाले युवाहरु आक्रोशित हुन स्वभाविक रहेको पुष्टि हुने उनको जिकिर थियो । 

नेता शाहीले आम जनताले अहिले सबैभन्दा बढी सरकार र राजनीतिक दलहरुसँग भ्रष्टाचार नियन्त्रणमा जोड दिनुपर्ने चाहना राखेको बताए । कार्तिक २३ गतेबाट मेचीनगरदेखि शुरु भएको युवा संकल्प यात्रा मंसिर ४ गते महेन्द्रनगरमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस !