१४ मंसिर २०८१, शुक्रबार
लुम्बिनी बहस

नियमित अन्तर्राष्ट्रिय हवाइ उडानका लागि लुम्बिनीका मुख्यमन्त्रीले देखेका गर्नैपर्ने तीन काम

प्रकाशित मिति :  29 November, 2024 7:45 am


भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडान सुनिश्चित गर्नका लागि भिसा स्वीकृति, श्रम स्वीकृति, र स्वास्थ्य परीक्षणका काम यहीँबाट गर्ने व्यवस्था गर्न प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिएका छन्।

टक्सार म्यागेजिन र नेपाल चेम्बर अफ कमर्सले आयाेजना गरेकाे गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना विषयक छलफल कार्यक्रममा भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय उडान सुरु भएपछि बुटवल र भैरहवा मात्र नभई सिंगो लुम्बिनी प्रदेशमा उत्साह जागेको बताए।

संघीय सरकारलाई विमानस्थलमा भिसा स्वीकृति, श्रम स्वीकृति, र स्वास्थ्य परीक्षणका प्रक्रिया अघि बढाउन आग्रह गर्दै उहाँले विमानस्थलको नियमित सञ्चालन सुनिश्चित गर्न यी कार्यहरू अपरिहार्य रहेको उल्लेख गरे।

उनले विमानस्थल सञ्चालनपछि लगानीको थप वातावरण तयार भएको बताउँदै लगानीमैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए । “मन खोलेर लगानी गर्नुस्, सरकार वातावरण बनाउन प्रतिबद्ध छ। कानुन बाधक छन् भने हामी त्यसलाई संशोधन गर्न तयार छौँ”, मुख्यमन्त्री आचार्यले भने। व्यवसायीहरूलाई उद्योग र व्यापारमा लगानी गरेर उत्पादन र आम्दानी बढाउन आग्रह गर्दै उनले शेयर बजारमा मात्र ध्यान केन्द्रित नगर्न सुझाव दिए।

मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि लुम्बिनी प्रदेशको सम्पूर्ण मन्त्रिपरिषद् डेलिगेसन गएको स्मरण गर्दै प्रदेश सरकारको पहलकदमीले संघीय सरकारलाई विमानस्थल सञ्चालनमा सहयोग पुर्‍याएको बताए। “हामीले पदबहाली गरेपछि नै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्छ भनेर सिंगो मन्त्रिपरिषद् नै डेलिगेसन गयो। प्रदेश सरकारले पहलकदमी गरिरहेको थियो, पछि संघीय सरकारले यो कुरालाई आत्मसात् गरेर सञ्चालनमा ल्यायो,” उनले भने।

गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि जहाज आइसकेको र अब उडान रोकिँदैन भन्ने विश्वास व्यक्त गर्दै उहाँले चीनको सिचुआन प्रान्तबाट दैनिक सिधा उडानको पहल भइरहेको जानकारी दिए। हालै चीनको सिचुआन प्रान्त भ्रमण गर्दा मुख्यमन्त्री आचार्यले सो सम्बन्धमा प्रस्ताव राखेकाे थियाे । “मैले चिनमा सिचुआनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गराउन प्रस्ताव राखेको छु। त्यहाँको प्रदेश सरकारले संघीय सरकारसँग कुरा गरेर यो काम अघि बढाउने बताएको छ,” उनले भने।

विमानस्थल सञ्चालनपछि पर्यटन व्यवसायले फड्को मार्ने र सोहीअनुरूप पर्यटन पूर्वाधारमा लगानी बढाउन जोड दिँदै मुख्यमन्त्री आचार्यले लुम्बिनी आउने पर्यटकलाई प्रदेशभर घुम्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे। लुम्बिनी पर्यटन सर्किटको माध्यमबाट पर्यटकलाई लुम्बिनी प्रदेशभित्रका विभिन्न ठाउँमा भ्रमण गराउन आवश्यक पूर्वाधार निर्माणमा सरकारले ध्यान केन्द्रित गर्ने जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !