१४ मंसिर २०८१, शुक्रबार

विमानस्थल सञ्चालन राज्यको जिम्मेवारी : मन्त्री ढकाल

प्रकाशित मिति :  29 November, 2024 7:54 am


भैरहवा। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन जिम्मा राज्यको भएको स्पष्ट पारेका छन्।

नेपाल चेम्बर अफ कमर्स र टक्सार म्यागेजिनको आयोजनामा भैरहवामा आयोजित गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना विषयक छलफल कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले विमानस्थल सञ्चालन गर्ने कि नगर्ने भन्ने विषय कर्मचारीको नभई राज्यकै प्राथमिक जिम्मेवारी भएको बताए।

उनले लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनमा महत्वाकांक्षी योजना अघि सारेको जानकारी गराउँदै “घुम्न जाऔं लुम्बिनी” अभियान सञ्चालन गरिरहेको बताए। उक्त अभियानले देशी–विदेशी पर्यटकलाई आकर्षित गरिरहेको उल्लेख गर्दै मन्त्री ढकालले पर्यटनको विकासका लागि प्रदेश सरकार निरन्तर क्रियाशील रहेको जानकारी दिए ।

मन्त्री ढकालले सम्भावनाको केन्द्रमा रहेको लुम्बिनी प्रदेशले पूर्वाधार विकाससँगै मानव विकासका क्षेत्रमा पनि ठोस प्रयास गरिरहेको बताए। “पर्यटनको विकास र पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाउन प्रदेश सरकार कटिबद्ध छ,” उनले भने।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि पर्यटक आगमनसँगै क्षेत्रीय विकासका लागि नयाँ अवसर सिर्जना भएको भन्दै मन्त्री ढकालले यसलाई दीर्घकालीन र प्रभावकारी बनाउनेतर्फ सबैको भूमिका महत्त्वपूर्ण हुने बताए। कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले पनि विमानस्थल सञ्चालनबाट थप सम्भावनाका ढोका खुलेको र यसलाई निरन्तर दिगो बनाउन जोड दिएका थिए।



प्रतिक्रिया दिनुहोस !