रोल्पामा राष्ट्रिय पुरुष भलिबल प्रतियोगीता हुने
दाङ । सन स्टार क्लव रोल्पाले राष्ट्रिय पुरुष भलिबल प्रतियोगीता सञ्चालन गर्ने निर्णय गरेको छ । “रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि” भन्ने मूल नाराका साथ आगामी फागुन २ देखि ७ गतेसम्म राष्ट्रिय पुरुष भलिबल प्रतियोगीता सञ्चालन गर्ने निर्णय गरेको क्लवका अध्यक्ष पूर्ण केसीले जानकारी दिए ।
जिल्ला सदरमुकाम लिवाङ टुँडिखेलमा सञ्चालन हुने प्रतियोगीताले खेलकुद र पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको अध्यक्ष केसीले जानकारी दिए । दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको महत्वपूर्ण योगदान रहने कुरामा विश्वास लिएको अध्यक्ष केसीले जानकारी दिए ।
समुदायस्तर वा गैरसरकारी स्रोतबाट आयोजना गरिएको प्रतियोगीतालाई सफल बनाउन क्लवले विज्ञप्ति जारी सबैमा आग्रह गरेको छ । “रोल्पा जिल्लाका सबै राजनीतिक दलहरु, सबै जनप्रतिनिधिहरु, स्थानीय सरकार, प्रदेश सरकार, देश एवं अन्तर्राष्ट्रिय सबै सञ्चार माध्यम तथा सञ्चारकर्मीहरु, देशभरि एवं विदेशमा रहेका रोल्पाली खेलाडी, पर्यटन व्यवसायीहरु, उद्योगी–व्यवसायीहरु, स्वदेश तथा विदेशमा रोजगारीमा रहेका सम्पूर्ण व्यक्तिहरुलाई आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न सन–स्टार युवा क्लब रोल्पाले हार्दिक अनुरोध गर्दछ”, क्लवका अध्यक्ष केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
“सबैका लागि खेलकुद, स्वस्थ नागरिक र सभ्य समाज“ भन्ने मान्यतालाई अंगीकार गर्दै खेलकुद, पर्यटन, व्यक्तिगत र संस्थागत एवं समग्र रोल्पाली युवाहरुको पहलमा १२ वर्ष अगाडि स्थापना भएको क्लवले खेलकुद र सामाजिक विकासका अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।