नीतिगत सुधार नभएकै कारण मुलुकको संस्थागत र संरचनागत विकास हुन सकेनः सञ्चारमन्त्री गुरुङ
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीतिगत सुधार नभएको कारण मुलुकको संस्थागत र संरचनागत विकास हुन नसकेको टिप्पणी गरेका छन् ।
आइतवार काठमाडौँमा छैटौँ संस्करणको ‘डिशहोम १२खरी कथा प्रतियोगिता–२०८१’ को नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पञ्चायतकालका कानूनहरू रहेको उल्लेख गर्दै ति कानूनहरूकै कारण काम आफूले गर्दै आएको कामहरू परिणाममुखि नदेखिएको बताएका हुन् ।
पुराना भएका कानूनहरूलाई समयानुकुल बनाएर उत्पन्न समस्याहरूको समाधान निकाल्न जरुरी रहेको उनको भनाइ छ । उनले राज्यका संरचनाहरूको काम गर्ने क्षमता वृद्धि गर्न नसकेकै कारण सहकारीमा समस्या देखिएको बताए । उनले सहकारीलाई तीन खम्बे अर्थनीति प्रोत्साहन गरेको भएपनि त्यसको समयमै नियमन र अनुगमन गर्न नसक्दा समस्या देखिएको बताए ।
उनले विश्वमै सहकारीले महत्वपूर्ण भुमिका खेलेको देश नेपाल भनिएपनि सहकारीहरूको कार्यशैली, कार्यक्षमतामा सरकारले ध्यान दिन नसकेको बताए। उनले पुराना भएका कानूनहरूको संशोधन गरी समयानुकल बनाउन सरकार लागिपरेको बताए ।
यस वर्षको डिशहोम १२ कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । यस्तै कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार प्राप्त गरेको छ ।
क्रममा छैटौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै प्रतिष्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त ९३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरेको छ ।