२६ मंसिर २०८१, बुधबार

उपनिर्वाचनमा लुम्बिनी : काङ्ग्रेसलाई आंशिक सन्तुष्टि, एमालेले जाेड्याे एक वडा

प्रकाशित मिति :  2 December, 2024 5:42 am


दाङ । लुम्बिनी प्रदेशमा हिजो सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसले सम्पूर्ण क्षेत्र बचाउन सकेन । २०७९ को निर्वाचनमा विजय हासिल गरेका प्रदेश विभिन्न ४ वडामध्ये ३ वडामा कांग्रेसले विजय हासिल गर्दा एउटा वडामा भने एमाले विजयी भएको छ ।

हालसम्म प्राप्त मत परिणामअनुसार लुम्बिनीमा माओवादी केन्द्र शुन्य भएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले विजयी हासिल गरेका बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा नेपाली कांग्रेस, रोल्पाको रुन्टिगढी गाउँपालिका ४ मा नेपाली कांग्रेस, गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसले विजयी हासिल गर्दा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यो वडामा यसपूर्व कांग्रेसले विजय हासिल गरेको थियो ।

बर्दियाको ठाकुरबाबा–४ मा कांग्रेसका अमिन थारु विजयी

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु विजयी भएका छन् । हिजो आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार थारु १ हजार ४३ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शेरबहादुर थारुले ६ सय ७८ मत प्राप्त गर्दा नेकपा (एमाले) का विष्णुप्रसाद देवकोटाले ३ सय ३७ मत प्राप्त गरेका छन् ।

२०७९ को निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका सूर्यबहादुर विष्ट १ हजार २ सय ९ मतसहित विजयी भएका थिए ।

कपिलवस्तुको शुद्धोधन-१ एमालेका ताहिर मुसलमान विजयी

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा नेकपा एमालेका ताहिर मुसलमान विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार ताहिर १ हजार १ सय ५० मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत प्राप्त गर्दा जनमत पार्टीका उम्मेदवार सीताराम पटेल ४ सय २३ मतसहित तेस्रो भएका छन् । यो पालिकामा यसअघि नेपाली कांग्रेसका उम्मेदवार तिलकराम यादव निर्वाचित भएका थिए ।

त्यतिबेला उनी १ हजार ३२ मतले विजयी हुँदा नेकपा एमालेका अब्दुल मोजीब खाँले ८ सय ८९ मत मात्रै पाएका थिए ।

रोल्पाको रुन्टीगढी ४ मा कांग्रेसका भुपमणि पुन विजयी

रोल्पाको रुन्टिगढी गाउँपालिका ४ मा नेपाली कांग्रेसका भुपमणि पुन विजयी भएका छन् । आज भएको उपनिर्वाचनमा छ सय ४३ मत प्राप्त गरी पुन विजयी भएका हुन् ।

निर्वाचनमा नेकपा (एमाले) का बेगम पुनले पाँच सय ३५, नेकपा (माओवादी केन्द्र) का नरेशजंग सिंहले ७०, राप्रपाका पहलबहादुर ओलीले १०, मङ्गोलका पूर्णबहादुर बुढाले ७, रास्वपाका हिमबहादुर पुनले ७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ६८ प्रतिशत मग खसेको थियो । एक हजार ९ सय मतदाता रहेकोमा एक हजार २ सय ९७ मत खसेको थियो, २१ मत बदर भएको थियो । २०७९ सालको निर्वाचनमा विजयी नेपाली कांग्रेसका टङ्क पुनको निधन भएसँगै वडाध्यक्षको पद रिक्त रहेको थियो ।

गुल्मीको मुसिकोट–१ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी

गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ विजयी भएका छन् । हिजो भएको निर्वाचनको अन्तिम मत परिणामअनुसार कांग्रेसका उम्मेदवार श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर विकले १ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापाले ४४ र राष्ट्रिय पजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षत्रीले ५ मत प्राप्त गरेका छन् ।

यहाँ २०७९ को निर्वाचनमा पनि नेपाली कांग्रेस विजयी भएको थियो ।



प्रतिक्रिया दिनुहोस !