प्रधानमन्त्रीकाे चीन भ्रमणमा पाउलान् त लुम्बिनीका विकास प्रस्तावले महत्व ?
दाङ । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछ ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा लुम्बिनीका विकास मुद्दाले प्राथमिकता पाउँछन् कि पाउँदैनन् यो चासोका विषय बनेको छ । लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा लुम्बिनी प्रदेशको समग्र विकासको एजेण्डा समावेश गर्न प्रस्ताव गरेर पठाएको थियो ।
मुख्यमन्त्री चेतनाराण आचार्यले प्रधानमन्त्री समक्ष प्रदेशको समग्र विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी सुनिश्चित सहितको विषय उठान गरिदिन अनुरोध गरेका थिए ।
भ्रमणको क्रममा राजधानी शहर निर्माणका लागि चाहिने स्रोत सुनिश्चितदेखि चीनको छेन्दुबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ उडानको विषयलाई प्राथमिकतामा राख्न विशेष जोड दिएको थियो ।
सरकारबाट राजधानी शहर निर्माणको लागि लगानीकर्ताको खोजी गरिरहेको जानकारी दिदै चीन भ्रणको अवसरमार राजधानी शहर निर्माणका लागि लगानीका विषयमा विषय उठान गरिदिन अनुरोध गरेको थियो ।
यस्तै भ्रमणको क्रममा चीनको सिचुआन प्रान्तको छेन्दुबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ उडानको लागि पैरवी गर्ने एजेण्डा पनि प्रस्तावको रुपमा समेट्न अनुरोध गरेको थियो ।