रुचाएनन् लुम्बिनीका मतदाताले रास्वपा : प्रदेशका चार वडामा जम्मा १६० मत प्राप्त
दाङ । काठमाडौँ महानगरपालिका वडानम्वर १६ मा विजय हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लुम्बिनीका मतदाताले साथ दिएनन् । प्रदेशका बर्दिया, रोल्पा, कपिलवस्तु र गुल्मीका चार वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले जम्मा १ सय ६० मत मात्र प्राप्त गरेका छन् ।
रोल्पाको रुन्टिगढी गाउँपालिका ४ मा नेपाली कांग्रेसका भुपमणि पुन छ सय ४३ मत प्राप्त गरी विजयी हुँदा रास्वपाका हिमबहादुर पुनले जम्मा ७ मत प्राप्त गरेका छन् । यो वडामा राप्रपाका पहलबहादुर ओलीले १० मत प्राप्त गरी रास्वपाका उम्मेदवारलाई पछाडि पारेका छन्, भने मङ्गोलका पूर्णबहादुर बुढाले रास्वपाले प्राप्त गरेको समान ७ मत प्राप्त गरेका छन् ।
त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४४ मत मात्र प्राप्त गरेका छन् । यो वडामा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका छन् ।
त्यस्तै कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ मत मात्र प्राप्त गरेका छन् । यो वडामा नेकपा (एमाले) का ताहिर मुसलमान १ हजार १ सय ५० मतसहित विजयी भएका छन् ।
त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बाशुदेव शर्माले १७ मत प्राप्त गरेका छन् । यो वडामा कांग्रेसका उम्मेदवार अमिन थारु १ हजार ४३ मतसहित निर्वाचित भएका छन् ।