स्याङ्जाका सुन्तला उत्पादनमा गिरावटः प्राकृतिक विपत्ति, रोग र भण्डारण अभावको असर
काठमाडाैँ । चिसो मौसम सुरू भएसँगै नेपाली बजारमा सुन्तलाको चहलपहल बढेको छ। पहेँला सुन्तलाले पसल र उपभोक्ताको मन सजाउँदै गर्दा स्याङ्जा यो उत्पादनमा अग्रणी बनेको छ ।
नेपालकै प्रमुख सुन्तला उत्पादन गर्ने जिल्लाको रूपमा चिनिएको स्याङ्जाको सुन्तला देशका विभिन्न कुनाकाप्चामा सहजै उपलब्ध छन्। यहाँको अनुकूल हावापानी र उर्वर माटोले गर्दा स्याङ्जामा उत्पादन हुने सुन्तलाहरू स्वादमा मिठास र बनावटमा आकर्षण बोकेका हुन्छन्। विषादीरहित उत्पादनका कारण पनि यी सुन्तलाहरू उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेका छन्।
स्थानीय किसानहरूको मेहनत र जैविक खेतीप्रतिको प्रतिबद्धताले स्याङ्जाका सुन्तलाहरूले बजारमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। यसले गर्दा देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि स्याङ्जाका सुन्तलाको माग बढ्न थालेको छ। यतिबेला स्याङ्जाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याई नभ्याई छ। स्थानीय किसानसँगै सहरबाट आएका ठेकेदार पनि सुन्तलाबारीमै थपिएका छन्, जसले सिंगो सुन्तला बगैंचा नै ठेक्का लिएका छन्।
नेपालको मध्यपहाडी क्षेत्रमा, समुद्री सतहभन्दा ८०० देखि २४०० मिटरसम्मको उचाइमा हुने सुन्तला खेतीले देशको कुल कृषि उत्पादनमा ०.८५ प्रतिशत योगदान पुर्याउँछ । स्याङ्जाका किसानका लागि यो प्रमुख नगदे बाली हो । तर स्वादले भरिएका स्याङ्जाका सुन्तलामा यतिबेला प्राकृतिक विपत्तिदेखि फलमा लाग्ने रोगले सताउँदा उत्पादन घट्दै गएको किसानहरूकाे गुनासाे छ ।
प्राकृतिक विपत्तिदेखि रोगको मारमा किसान
गत असोज १२ गतेदेखि परेको अविरल वर्षका कारण देशभरको कृषि क्षेत्रमा करिब ६ अर्बभन्दा बढीको क्षति पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको थियाे । सो क्षतिले स्याङ्जाका सुन्तलालाई समेत असर पारेको सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष बोधराज अर्यालले बताए ।
उनका अनुसार सो वर्षाका कारण २० प्रतिशत सुन्तला उत्पादनमा असर गरेको छ । त्यतिमात्रा नभएर पछिल्लो समय कृषकलाई सुन्तलामा लाग्ने रोगले समेत सताउने गरेको छ । सबैभन्दा बढी सुन्तलामा देखिने औंसा र पतेरोले कृषकलाई मार परिरहेको भीरकोट नगरपालिका वडा नम्बर ७ का कृषक मिनप्रसाद कोइरालाले बताए । कृषकहरूका अनुसार औंसे कीरा र स्केल रोगका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका गुनासो आउन थालेको सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष अर्यालले बताए ।
अर्यालले भने, “सुन्तलामा यी रोगहरूको प्रभाव देखिँदै गर्दा, कृषकहरू बिचमा गुनासो बढिरहेको छ। सुन्तला खेती गर्ने कृषकहरूले उत्पादनमा गिरावट र रोगका कारण ठूलो असफलता भोगिरहेका छन्। यसले कृषकहरूको जीवनस्तरमा पनि नकारात्मक प्रभाव परेको छ।”
नेपालका कृषकहरूको लागि यो समय चुनौतीपूर्ण छ, जहाँ प्राकृतिक विपत्ति र रोग दुबैको असरले उनीहरूको जीविका संकटमा परेको छ। यसलाई ध्यानमा राख्दै, कृषकहरूको सुरक्षा र उपयुक्त रोग नियन्त्रण उपायहरूको खाँचो रहेकाे उनले बताए ।
क्षेत्रफल वृद्धि हुँदा उत्पादन कम
नेपालमा सबैभन्दा बढी घनत्वमा सुन्तला खेती हुने जिल्ला हो, स्याङ्जा । त्यसैले आर्थिक वर्ष २०७३\७४ मा सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याङ्जालाई जिल्लालाई एक मात्र ‘सुन्तला सुपर जोन’ घोषणा गर्यो ।
जसलाई २०७५\०७६ मा आएर सुन्तला सुपरजोनको रूपमा स्तरोन्नती गरेर पुतलीबजारका ८ वडा, भीरकोटका ६ वडा, वालिङको १ वडा, अर्जुनचौपारीको २ वडा समावेश गरिए । तर जिल्लामा सुन्तला सुपर जोन घोषणा गरेरे सुन्तला खेतीका लागि क्षेत्रफल वृद्धि गराएपनि तुलनात्मक रूपमा उत्पादन कम छ ।
जसअनुसार आर्थिक वर्ष २०८०\८१ मा २१ सय हेक्टरमा खेती विस्तार भयो तर, उत्पादन १९ सय ५० मेट्रिक टनमा सीमित भयो । जबकी आर्थिक वर्ष २०७७\७८ मा १७ सय हेक्टरमा २९ हजार १३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७८\७९ मा १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनाले जनाएको छ । परियोजन अनुसार उक्त आर्थिक वर्ष प्रति हेक्टर उत्पादन १४.४६ मेट्रिक टन रहेको थियो । किसानले बगैंचामा प्राप्त गर्ने औसत मूल्य प्रति केजी ५५ देखि ६० रुपैयाँको दरले हिसाब गर्दा उक्त वर्ष स्याङ्जामा करिब १ अर्ब १० करोड बराबरको सुन्तला उत्पादन भएको सुन्तला सुपरजोन परियोजना कार्यालयले जनाएकाे छ ।
त्यस्तै आर्थिक वर्ष २०७९\०८० मा १७ हजार ६३२ टन सुन्तलाबाट १ अर्ब ३८ करोडको सुन्तला उत्पादन भएको थियो । यस अवधिमा सुन्तलाको उत्पादनमा कमी हुनुका पछाडि ‘अल्टरनेट बियरिंग’ प्रवृत्ति, प्रतिकूल मौसम, कमजोर बगैंचा व्यवस्थापन र पुराना बोटहरूको समस्या रहेको बताइन्छ। त्यस्तै अध्यक्ष अर्यालका अनुसार चालु आर्थिक वर्ष १ अर्बको मात्रा सुन्तला उत्पादन हुने आंकलन छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा सबैभन्दा बढी ८५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ भने सबैभन्दा कम फेदिखोला गाउँपालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । यसैगरी भीरकोट नगरपालिकामा ३५० हेक्टर , अर्जुनचौपारी गाउँपालिकामा २७० हेक्टर, वालिङ नगरपालिकामा २४० हेक्टर, आँधिखोला गाउँपालिकामा १२५ हेक्टर, गल्याङ नगरपालिकामा १३० हेक्टर, विरुवा गाउँपालिकामा १५५ हेक्टर र हरिनास गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यवसायिक खेती गरिएको छ । जिल्लामा उत्पादित सुन्तला मध्ये १० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ भने ९० प्रतिशत सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । व्यावसायिक रूपमा हेर्दा देशभरका ४८ जिल्लामा १०० हेक्टरभन्दा बढी क्षेत्रमा सुन्तला खेती भइरहेको सरकारी विवरणमा देखिन्छ।
राख्नको लागि छैनन् व्यवस्थित कोल्ड स्टोर
२०७९ सालमा स्याङ्जाका किसानले स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ११ मा रहेको कोल्ड स्टोरमा १२ हजार टन क्षमता हुँदा १ सय २६ टन सुन्तला राख्दा ६४ टन सुन्तला कुहिएर फालिएको थियो ।
त्यस्तै सोही वर्ष फेदीखोलाको कोल्ड रुममा १० टन राखेकोमा ६ टन बिग्रिएको थियो भने कृषि उपज केन्द्रमा राखिएको ५ टनमध्ये २ टन विग्रदा जिल्लाभरिबाट २ सय ९३ टन सुन्तला विग्रिएर नष्ट गर्नु पर्ने अवस्था आएको थियो । जसले गर्दा किसानहरू आफ्नाे बगैँचामा उत्पादन भएकाे सुन्तला बाेटबाट नै बिक्री गर्ने गरेकाे अध्यक्ष अर्यालले बताए ।
उनले किसानले उत्पादन गरेको सुन्तलाले बजार नपाउँदा वा बढी हुँदा संकलन गरेर राखिने ठाउँ शीत भण्डार (कोल्ड स्टोर) नहुँदा र भएका स्टाेर प्रयाेग नल्याउँदा बाेटबाट नै बिक्री गर्नुपर्ने बाध्यता रहेकाे बताए । उनले जिल्लामा सरकारी निकायको अनुदान तथा निजी क्षेत्रबाट विभिन्न शीत भण्डार निर्माण भएपनि पूर्ण रूपमा प्रयोग हुन नसक्दा किसान मर्कामा परेकाे बताए ।