‘राज्य संयन्त्र कमजोर हुँदा ग्रामिण भेगका अपाङ्गता भएका नागरिक संविधान प्रदत्त अधिकारबाट वञ्चित हुनुपर्यो’
काठमाडाैँ । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्यले राज्यले प्रदान गर्दै आएको अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारबाट अझै पनि ग्रामिण र दुर्गम भेगका नागरिक वञ्चित रहेको बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमावार महासंघले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष आचार्यले अपाङ्गता भएका नागरिकहरूप्रति ८ जनामध्ये एक जनाले मात्र राज्यले प्रदान गर्दै आएको सहायक सामग्री प्राप्त गर्ने गरेको बताएका हुन् ।
उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण गर्ने सरकारी मापदण्डको कार्यान्वयनमा राज्य संयन्त्रहरू नै कमजोर रहेको बताए । सरकारले बनाएका नियम र कानूनमा उल्लेखित भएका कुराहरूलाई अपाङ्गता भएका व्यक्तिहरुका जीवनमा सुनिश्चित हुनेगरी राज्यले आफ्नो क्षमता विकास गन जरुरी रहेको उनको भनाइ छ ।
उनले हालसम्म अपाङ्गता भएका व्यक्तिहरूको लािग सरकारले दिएका सेवा सुविधाहरुमा परिचय पत्रको व्यवस्था, समुदायमा आधारित प्रश्तावना कार्यक्रमको प्रवद्र्धन, पुनःस्थापना केन्द्रहरुको लागि अनुदान सहयोग, सहायक सामग्री वितरण, अपाङ्गता भएका व्यक्तिहरूको लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था, उच्च शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था, छात्रवृत्तिको व्यवस्था, सार्वजनिक यातायातमा छुटको व्यवस्था, निःशुल्क स्वास्थ्य उपचार, पूर्ण अस्वस्थ व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको आएको उल्लेख गरे ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरुका लागि बनाएका ऐन र कानूनहरु समयानुकुल बनाउँदै कार्यान्वयनमा चुस्तता दिनुपर्नेमा उनको जोड छ । भौतिक संरचना र संचार सेवाहरूअपाङ्गमैत्री नभएको कारण अपाङ्गता भएका व्यक्तिहरू कष्टपूर्ण जीवन जिउन बाध्य रहेको उनले बताए । —न्युज एजेन्सी नेपाल