एनपिएलः जनकपुरको दोस्रो जित, कर्णाली ८ विकेटले पराजित
काठमाडाैँ । कर्णाली याक्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार दोस्रो जित हात पारेको छ ।
जवाफमा १४१ रनको विजय लक्ष्य पछ्याएको जनकपुर बोल्टसले १५ ओभर १ बलमा २ विकेट गुमाउँदै जित हात पार्यो । ओपनर कप्तान अनिलकुमार शाह र मार्की खेलाडी आसिफले जनकपुरलाई उत्कृष्ट सुरूवात दिए । पावर प्लेटको ६ ओभरमा उनीहरूले ५६ रन बनाए ।
पहिलो विकेटको लागि ९ ओभर ४ बलमा ८४ रनको साझेदारी गर्दै जितको आधार खडा गरे । आसिफ ३६ रनमा आउट भए । पहिलो विकेट मौसम ढकालले लिए । क्रिजमा जमेका कप्तान अनिल शाहले अविजित ६२ रनको पारी खेले । ३५ बलको सामना गर्दै ६ चौका र २ छक्का सहित ५० रन पूरा गरे । उनले ४२ रनमा ६२ रनको सानदार इनिङ्स खेल्दै टिमलाई सहज जित दिलाए । लाहिरू मिलान्थाले २४ रन जोडे । बलिङमा फितलो बनेको कर्णालीको लागि किसान मक्सुद र मौसम ढकालले १÷१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनायो । कर्णालीले शुरूवात राम्रो गर्न सकेन । भारतीय शिखर धवन र देव खनाल ओपनिङको लागि क्रिजमा छिरे । शिखरको ब्याटिङ हेर्न दर्शक आतुर थिए । देव खनाल मात्र १ रनमा आउट भए । धवनले तीन चौका प्रहार गर्दा दर्शक खुशी भए । तर उनी १४ रनमा नै आउट भए । लगत्तै चादविक वाल्टन ८ र जिसन मक्सुद ० रनमा आउट भए । ३५ रन जोड्दा कर्णालीले चार महत्वपूर्ण विकेट गुमाइसकेको थियो ।
यसपछि बाबर हतार पनि १२ रनमा पेबिलियन फर्किए । २७ बल खेल्दै १ चौका र ३ छक्कासहित गुल्सन झा ३६ रनमा आउट भए । यतिखेर ६ विकेटको नोक्शानीमा ७९ मात्र बनाएको थियो । कर्णाली रन जोड्न संघर्ष गरिरहेको थियो । १८ ओभर सकिंँदा ९८ रन मात्र बनाएको थियो। यसपछि १९ औं ओभरमा अर्जुन घर्तीले दुई छक्का र दुई चौकासहित ५ बलमा २२ रन बनाए । अन्तिम ओभरमा कप्तान सोमपाल कामीले एक छक्का र तीन चौका सहित २१ रन जोडे। अन्तिम दुई ओभरमा ४३ रन जोड्दा कर्णालीलले १४० रन बनाएको थियो । लगातारको दोस्रो जितमा जनकपुरले चार अंक बनायो । मंगलवार दुई खेल हुनेछन् ।