सडक दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु, चार जना घाइते
लक्ष्मी पोखरेल
दाङ । छुट्टा छुट्टै सडक दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । घोराही-तुलसीपुर सडक खण्डअन्तर्गत घोराही-१० झारबैरामा टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौरका १९ वर्षिय सुदिप बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते बुढाथोकीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको भन्दै सूचना अधिकारी थापाले अर्का घाइते बस्नेतको राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको जानकारी दिए। उनका अनुसार टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै जिल्लाको देउखुरीमा सडक दुर्घटनामा परी ३ जना घाइते भएका छन् । राप्ती गाउँपालिका वडानम्वर-३ मा भएको सडक दुर्घटनामा परी ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । कार्यालयका अनुसार दुर्घटनामा परी राप्ती गाउँपालिका वडानम्वर ४ मौरीघाटका २१ वर्षिय योगेश कुवर, सोही ठाउँका १९ वर्षिय अनमोल चौधरी र १४ वर्षिय आकाश चौधरी घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जानकारी दिएकाे छ । पहिचान नखुलेकाे ट्रकले दुई वटा मोटरसाइकललाई ठक्कर दिएकाे प्रहरीकाे भनाइ छ ।
यता अवरुद्ध राजमार्ग खुलेकाे छ । दुर्घटनापछि आक्रोशित आफन्त र स्थानीयको अवरोधका कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको थियाे । राजमार्गको सिसहनिया-मौरिघाट खण्ड अवरुद्ध भएको थियाे । ठक्कर दिने ट्रककाे खाेजी गर्ने सहमतिपछि अवरुद्ध राजमार्ग खुलेकाे प्रहरीले जानकारी दिएकाे छ ।