अपर मादी आयोजना निर्माणका लागि ६ वटा बैंक र अन्नपूर्ण पावर कम्पनीबिच लगानी सम्झौता
काठमाडौँ । कास्कीको मादी गाउँपालिकामा निर्माण हुने ४३ मेगावाटको अपर मादी–० खोला आयोजनामा ६ वटा बैंकले लगानी गर्ने भएका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाई र ग्लोबल आइएमई बैंकको सह–अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एस।बि।आई। बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने भएका हुन् । आयोजना निर्माणका लागि यी ६ बैंकले पाँच अर्ब ६८ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् ।
ऋण लगानी सम्झौतामा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा आयोजना प्रवर्द्धक कम्पनी अन्नपूर्ण पावर कम्पनी र बैंकबिच हस्ताक्षर भएको छ ।हस्ताक्षर गरिएको सम्झौतापत्र कम्पनीका तर्फबाट सिइओ वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेले र बैंकहरूकातर्फबाट अगुवा बैंक सिटिजन्स बैंकका डेपुटी सिइओ राजेन्द्रलाल श्रेष्ठले ‘एक्स्चेन्ज’ गरेका छन् । अन्नपुर्ण पावर कम्पनीका अध्यक्ष सबु कोइरालाको अध्यक्षता रहेको कार्यक्रममा सांसदहरू डा.स्वर्णिम वाग्ले, डा.चन्द्र भण्डारी, मनबहादुर गुरुङ, जीवन परियार सहभागी थिए ।
त्यसैगरी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्र राज ढकाल, विद्युत नियमन आयोगका अध्यक्ष इ.डा.रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, अन्नपुर्ण पावर कम्पनीका सञ्चालक शिला कोइराला लगायत बैंकका प्रतिनिधिहरू सहभागी भएका थिए ।
आयोजनाको लागत ८अर्ब १२ करोड अनुमान गरिएको छ । आयोजना निर्माणका लागि सिटीजन्स बैंकले १ अर्ब ५० करोड, ग्लोबल आइएमई बैंकले एक अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब, लक्ष्मी सनराइज बैंकले ८५ करोड, नेपाल एसविआइ बैंकले ६० करोड र माछापुच्छ्रे बैंकले ५० करोड लगानी गर्नेछन् । ३० प्रतिशत स्वपुँजी प्रवर्द्धकहरूबाट जुटाइनेछ । आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अन्नपूर्ण पावर कम्पनीले जनाएको छ ।