एनपिएल क्रिकेटः सुदूरपश्चिमसँग विराटनगरको फराकिलो हार
काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ ।
विराटनरको यो लगातार दोस्रो हार हो । जवाफमा १८३ को विशाल विजय लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ९२ रनको लज्जास्पद योगफलमा समेटियो । खराब ब्याटिङ गरेको विराटनगरले ११ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । यसपछि कुनैपनि समय साझेदारी बन्न सकेन । निरन्तर अन्तरालमा विकेट गुमिरहँदा विराटनगर निरिह बन्यो । उसको लागि बसिर अहमदले २४, राजेश पुलामीले १४ र अनिल खरेलले अविजित १० रन बनाए ।
यसबाहेक अन्यले दोहोरो रन छुन सकेनन् । बलिङमा स्कट कुगेल्जन र अविनाश बोहराले ३÷३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो । जारी एनपिएलमा कुनैपनि टिमले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो ।
ओपनर अनिल श्रेष्ठ १ रनमा, बिनोद भण्डारी २३ रनमा र आरिफ शेख ९ रनमा आउट हुँदा सुदूरले ३ विकेटको नोक्शानीमा ३ विकेट गुमायो । सेफ जेब १४ र ब्रयान्डन म्याकमुलेन ३६ रनमा आउट भए । यसपछि ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले छैटौं विकेटको लागि ४९ रनको साझेदारी गरे ।
पाण्डे १६ बलमा २ चौका र १ छक्का सहित २१ रन जोडेर रन आउट भए । कप्तान दीपेन्द्र सिंह ऐेरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक पूरा गरे । उनले मात्र २३ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे । यसपछि अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित ५७ रनको उत्कृष्ट पारी खेले ।
बलिङमा अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । क्रिस सोल, इस्मात अलाम र बसिर अहमदले समान १÷१ विकेट लिए । कप्तान सन्दीप लामिछाने भने लगातार दोस्रो खेलमा विकेट बिहिन बने । जितमा सुदूरले २ अंक जोड्यो । लगातार दुई खेल हारेको विराटनगरले अंकको खाता खोल्न सकेको छैन । —न्युज एजेन्सी नेपाल