नीतिगत व्यवस्था सहज भए मात्रै सरकारले विद्युत उत्पादनमा लिएको लक्ष्य पूरा हुन्छः उपसभापति वाग्ले
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति डा.स्वर्णिम वाग्लले जलविद्युत उत्पादनको लागि लगानीकर्तालाई सहज प्रक्रिया बनाए मात्रै विद्युत उत्पादनमा सरकारले लिएको लक्ष्य पूरा हुने बताएका छन् ।
सोमवार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उप–सभापति वाग्लले नेपालमा जलविद्युतको ठूलो सम्भावना भएपनि लगानीको लागि ठूलो जोखिम मोल्नुपर्ने अवस्था रहेको बताए । उनले एउटा सानो ४३ मेगावटको जलविद्युत आयोजना निर्माणको लागि ७ मन्त्रालय,२४ भन्दा बढी विभाग र ४५ प्रक्रिया पूरा गर्नुपर्ने लामो प्रक्रिया रहेको बताए ।
उनले सानो क्षमताको जलविद्युत आयोजना अगाडि बढाउनको लागि पनि धेरै मेहनत,संर्घष,अफ्ठ्यारा र अवरोधहरु झेल्नुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताए । उनले सरकारले मुलुकभित्र गरिखाने वातावरण बनाउनु पाप नै गरेको जस्तो देखिएको बताए ।
उनले लगानीकर्ताले गर्नुपर्ने अनावश्यक प्रक्रिया र नीतिगत समस्याहरु सरकारले खारेज गनुपर्ने बताए । उनले जलविद्युत क्षेत्रको विकास गरी उत्पादन वृद्धिको लागि रिफर्मको आवश्यकता देखिएको बताए । उनले संसदमा विद्युत ऐन लगायतका ऐनहरुको छलफल पनि कर्मकाण्डी हुने गरेको बताए ।
उनले संसदमा प्रतिनिधित्व गर्ने दल काँग्रेस,एमाले,माओवादी र रास्वपाले पनि स्वार्थ समूह वा व्यवसायीहरुले बुझाएको कुरा राखेर विधेयकमा संशोधन हाल्ने गरेको उल्लेख गरे । उनले अहिले सहकारीको विषय चर्चित रहेको भन्दै २०७४ को सहकारी ऐन आउँदा ६९२ संशोधन हालिएको बताए ।
उनले कुनैपनि सांसदहरुले अध्ययन गरेर ड्राफ्ट गरेर संशोधन नहाल्ने भन्दै बाहिरबाट बनाएका बुँदाहरु राखेर संशोधन हाल्ने बताए । उनले जलविद्युतसम्बन्धी केही ऐनहरु आउँदा पनि यथार्थ छलफल नभई समितिहरुमा कर्मकाण्डी रूपमा ऐन पास हुँदा समस्या आएको बताए ।