संविधान कार्यान्वयनका लागि आवश्यक अधिकांश कानूनहरू निर्माण भइसकेः कानूनमन्त्री चौरसिया
काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने अधिकांश कानूनहरू निर्माण भइसकेको बताएका छन् ।
मंगलवार कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरूको प्रभावकारीता लगायतका सम्बन्धमा संसदीय समितिका सभापतिहरू, सभामुख र उपसभामुखको अन्तरक्रिया कार्यक्रममा उनले नेपालको संविधान, २०७२ जारी भइसकेपछि हालसम्म २०५ वटा कानून निर्माण भइसकेको बताएका हुन् ।
उनले विभिन्न मितिमा जारी भएको केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक पर्ने ऐन र कानूनहरू समेत संविधान अनुकुल बनाउने काम सम्पन्न भएको बताए ।उनले विद्यालय शिक्षा सम्बन्धी विधेयक, संघीय निजामति सेवा सम्बन्धी विधेयक लगायतका २५ वटा विधेयकहरू हाल संसदमा छलफलकै क्रममा रहेको समेत जानकारी दिए।
त्यसैगरी, नेपाल प्रहरी सम्बन्धी विधेयक, सशस्त्र प्रहरी बल सम्बन्धी विधेयक, पर्यटनसम्बन्धी विधेयक, सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयक, पानी जहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक जस्ता महत्वपूर्ण विधेयकहरु संघीय संसदमा पेस हुने चरणमा रहेको उनको भनाइ छ ।
निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्थानीय सरकार संचालन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक तथा संक्रात्मक पशु रोग नियन्त्रण गर्न बनेको विधेयक लगायतका ११ वटा विधेयकहरु कानून मन्त्रालयमा सहमतिका क्रममा रहेको समेत उल्लेख गरे ।
उनले कानूनी सहायतालाई प्रभावकारी रूपमा अगाडि बढाउन एकीकृत कानून सम्बन्धी विधेयकको मस्यौदा तयार गर्ने काम लागिरहेको जानकारी दिए ।