आवश्यकतालाई हेरेर मात्रै कानुनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक छः सभामुख घिमिरे
काठमाडाैँ । सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलवार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद कानून बनाउने थलो भएपनि वर्तमान संसदले कानून बनाउन नसकेको स्वीकार गरेका हुन् । उनले संसदमा कानून ल्याउँदा सरकारले आफ्नो आवश्यकता,अध्ययन,बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे ।
उनले सरकारले कानून उत्पत्ति गर्दै सांसदहरूको सहभागिता बनाउने प्रवन्ध गर्न आवश्यक रहेको बताए । उनले आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषय संसदहरूको भुमिकामा निर्भर हुने बताए । उनले अहिले सांसदहरू नै संसद अधिवेशनको लागि तयार नदेखिएको बताए ।उनले समितिहरुले संसदमा पेस भएका विधेयकहरूलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिन सक्नुपर्ने बताए ।