विद्यार्थी विदेशिने समस्या डरलाग्दो छः सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताए ।
बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उनले यस्तो बताएका हुन । उनले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको उल्लेख गरे ।
उनले यि तीन वटै विधेयकहरु छिटो ल्याउन काँग्रेसले पहल गर्ने बताए । उनले पछिल्लो समय कक्षा १२ उत्तिर्ण हुने बित्तिकै विद्यार्थी विदेशिने समस्या डरलाग्दो रुपमा देखिएको बताए ।
उनले मुलुकमा सञ्चालित क्याम्पसहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको बताए । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद् भएको बताए ।
युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको बताए । यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक भएको सभापति देउवाको भनाइ छ ।
सभापति देउवाले अबको ४०/५० वर्षको अनुमान गरेर मुलुकले अवलम्वन गर्नुपर्ने शिक्षा नीति निर्माण गर्नुपर्ने बताए । उनले शिक्षामा रुपान्तरण, शिक्षामा बजेट वृद्धि गर्न जरुरी रहेको बताए ।