२६ मंसिर २०८१, बुधबार

कीर्तिमानी अरोही हरि बुढामगरलाई बेलायतमा प्रतिष्ठित ‘एमबिई’ सम्मान

प्रकाशित मिति :  6 December, 2024 3:23 pm


काठमाडौँ । कीर्तिमानी अरोही हरिबुढामगर बेलायतमा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएका छन् ।

घुँडाभन्दा माथिको दुबै खुट्टा गुमाएका व्यक्तिमा पहिलोपटक सगरमाथा आरोहण गरेका बुढामगर बेलायतको ‘एमबिई’ सम्मान पाएका हुन् । यो पुरस्कार बेलायतको तेस्रो प्रतिष्ठित सम्मान हो ।

बुढामगरलाई बेलायती राजाको तर्फबाट राजकुमारी एनले बुढामगरलाई पुरस्कार प्रदान गरेकी हुन् ।

दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने र अरूको लागि उदाहरणीय काम गरेर महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरूका लागि एमबिई पुरस्कार प्रदान गरिन्छ ।

पुरस्कार ग्रहणपछि कृतिमानी आरोही बुढामगरले आफूलाई एमबिईबाट सम्मानित भएकोमा ‘एकदमै अद्भुत महसुस’ गरेको बताए ।

बुढामगरले २०१० मा अफगानिस्तानमा ब्रिटिश सेना कार्यरत हुँदा विद्रोहीले थापेको आइडी (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) विस्फोटमा दुबै खुट्टा गुमाएका थिए । उनले सन् २०२३ मा सगरमाथा आरोहरण गरेर कृतिमान कायम गरेका थिए । मगरलाई अपांगता सचेतना सेवाहरूको लागि एमबीई बनाइएको हो ।

बुढामगरले सन् २०१८ मा एभरेस्ट चढ्न अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिबन्ध लगाउने निर्णयलाई उल्टाउन नेपालको सर्वोच्च अदालतमा अभियान चलाएका थिए ।

पुरस्कार ग्रहणका क्रममा बुढामगरले राजकुमारी ऐनलाई सातवटा शिखर आरोहण पुरा गर्ने सुनाएका थिए । उनले भने,“मैले उनलाई (राजकुमारी ऐनलाई) भने कि म सातवटा शिखरहरू चढ्दैछु । उनी केही समयको लागि बोल्न सकिनन् ।”

बुढामगरले सातवटा महादेशका सबैभन्दा अग्ला शिखर आरोहणको लक्ष्य राखेका छन् । अहिलेसम्म ४ वटा शिखरको आरोहण गरिसकेका छन् । आगामी फेब्रुअरीमा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो पहाड एकोनकागुआ आरोणको तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !