घोराहीमा प्याव्सन रनिङ शिल्ड हुने : ५० विद्यालयका ६०० विद्यार्थीको हुँदै
दाङ । निजी विद्यालयको छाता संगठन प्याव्सन घोराहीले ‘प्याव्सन रनिङ शिल्ड–२०८१’ सञ्चालन गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी प्याव्सन घोराहीले यही मंसिर २७ गतेदेखि २९ गतेसम्म ‘प्याव्सन रनिङ शिल्ड–२०८१’ को आयोजना गर्न लागेको जानकारी दियो ।
नगर अध्यक्ष बालकृष्ण ओलीले विद्यार्थीहरुको सर्वाङ्गीन विकास गर्ने उद्देश्यले रनिङ शिल्डको आयोजना गर्न लागेको जानकारी दिए ।
घोराहीको नवलपुर खेल मैदानमा रनिङ शिल्डअन्तर्गतका ३० वडा खेल सञ्चालन हुने भन्दै अध्यक्ष ओलीले प्रतियोगितामा ५० वटा संस्थागत विद्यालयको ६ सय विद्यार्थीहरुको सहभागिता हुने जानकारी दिए । ‘‘संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको चौतर्फि विकासका लागि रनिङ शिल्डको आयोजना गर्न गइरहेको छौं’’, अध्यक्ष ओलीले भने, ‘‘कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण क्षेत्रलाई अनुरोध गर्दछौं ।’’
संस्थागत विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुको प्रतियोगितामा सहभागीता हुने भन्दै अध्यक्ष ओलीले रनिङ शिल्डका लागि ६ लाख बढी खर्च अनुमान गरिएको जानकारी दिए । उनका अनुसार रनिङ शिल्डअन्तर्गत भलिबल, कबड्डीलगायत एथेलेक्टिक्सका खेलहरु सञ्चालन हुने छन् ।
प्रअ भेला सम्पन्न
यसैबिच प्याव्सन घोराहीले प्रधानाध्यापकको भेला आयोजना गरेको छ । शुक्रबार घोराहीमा सम्पन्न भेलाले ‘प्याव्सन रनिङ शिल्ड–२०८१’ लाई सफल बनाउन आआफ्नो ठाउँबाट लाग्ने निर्णय गरेको प्रचारप्रसार समितिका संयोजक महेश बस्नेतले जानकारी दिए । भेला नगर अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षता, निवर्तमान केन्द्रय सल्लाहकार नारायणप्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा भएको थियो ।