२६ मंसिर २०८१, बुधबार

घोराहीमा भ्यालि जुनियर क्रिकेट एकेडेमी सञ्चालनमा

प्रकाशित मिति :  6 December, 2024 5:44 pm


दाङ । दाङको घोराहीमा भ्यालि जुनियर क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी केशव अधिकारीले सञ्चालनमा ल्याएको एकेडेमीको शुक्रबार उद्घाटन गरिएको छ ।

घोराही उपमहानगरपालिका वडानम्वर १५ का अध्यक्ष रमेशकुमार पाण्डे र लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले एकेडेमीको उद्घाटन गरेका हुन् ।

घोराहीको भरतपुरबाट सञ्चालनमा आएको एकेडेमीमा १ सय जना विद्यार्थीहरुलाई प्रशक्षण दिन सकिने सञ्चालक अधिकारीले जानकारी दिए ।

लुम्बिनी प्रदेश महिला क्रिकेट टिमको कोचको भूमिका खेलिसकेका अधिकारीले आफूले खेललाई निरन्तरता दिन नसके पनि खेलाडी उत्पादनमा भूमिका खेल्ने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याएको जानकारी दिए । १० लाखकाे लगानीमा एकेडेमीकाे स्थापना गरेकाे अधिकारीले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले जिल्लाको क्रिकेटको विकासका लागि एकेडेमीले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास लिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव रोका मगरले खेलको स्किलसँगै अनुशासित खेलाडी उत्पादनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । लामो समयदेखि दक्ष खेलाडी उत्पादन हुने क्रम रोकिएको भन्दै उहाँले यसतर्फ एकेडेमीले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य किशोरचन्द्र गौतम, भ्यालि जुनियर क्रिकेट क्लवका अध्यक्ष सुदिप गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !