इजरायलले प्यालेस्टाइनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाऔँः अध्यक्ष दाहाल
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै बिरोध जनाएका छन् ।
सोमवार काठमाडौँको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका बिरुद्ध विगतदेखि नै विश्वव्यापी रुपमा आवाज उठ्दै आएको बताएका हुन् । उनले अहिले पछिल्लो चरणमा प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको बिरोध गरे ।
संयुक्त राष्ट्रसंघमा यसको बिरुद्धमा पटक पटक प्रश्तावहरू पारित हुने गरेको भएपनि इजरायलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको बताए । अमानवीय ढंगले आक्रमण गरी हत्या गरेकोमा सबैले आवाज उठाउनुपर्ने बताए ।
“इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका बिरुद्ध विगतदेखि नै विश्वव्यापी रुपमा आवाज उठ्दै आएको कुरा हामी सबैलाई थाहा छ । अहिले पछिल्लो चरणमा खासगरी प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको पनि विश्वव्यापी रुपमा हुँदै आएको छ । संयुक्त राष्ट्रसंघमा पनि यसका बारेमा पटक पटक प्रश्तावहरु पारित हुने गरेका छन् तर ति सबैलाई पनि अटेरी गर्दै जसरी नरसंहार र नाकाबन्दीको निरंकुश तरिका अपनाइएको छ,”उनले भने ।
७ अक्टोबर २०२३ मा इजरायलले गाजामा आक्रमण गरेको थियो । तत्कालीन समयमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल नै हुनुहुन्थ्यो । अहिले २०२४ को डिसेम्बर ९ मा आएर तत्कालीन प्रधानमन्त्री दाहालसहितका नेताहरुले गाजामाथिको आक्रमण रोक्नुपर्ने मागसहित हस्ताक्षर अभियान सुरू गरेका छन् ।