परम्परागत शैलीमा महाङ्काल मन्दिर परिसर चौघेरा सत्तलको पुननिर्माण सुरू
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको पश्चिमतर्फ महाङ्काल मन्दिर परिसर चौघेरा सत्तलको पुननिर्माण सुरू गरेको छ । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आज जग पूजा तथा शिलान्यास गरेर निर्माण कार्यको प्रारम्भ गरेकी हुन् ।
त्यस अवसरमा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नमबर ८ का अध्यक्ष आशामान संगत, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक एवं वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, कार्यपालिका सदस्यहरु, गुठियार, पुजारीसहित सरोकारवालाले जग पूजा गरेका थिए ।
“काठमाडौँका सम्पदाको प्राचीनता र मौलिकता तस्विरमा होइन, वास्तविकतामा हेर्न मिल्ने बनाउँदैछौँ,” त्यस अवसरमा उपप्रमुख डंगोलले भनिन्, “प्राचीनता जोगाउन सबै पक्षबाट सहयोग र समन्वय हुने अपेक्षा गरेका छौँ ।”
काठमाडौँ पुजारी संघका अध्यक्ष एवं महानगरपालिकाका पूर्व वडाध्यक्ष नीलकाजी शाक्यले, मूर्त सम्पदासँगै अमूर्त सम्पदा जोगाउन महानगरपालिकाले गरेका कामबाट नतिजा आएको बताउँदै महानगरपालिकाका काममा सरोकारवाला निकायले अवरोध गर्न नहुने धारणा राखेका थिए ।
“योजनाको लागतअनुमान १० करोड १० लाख ७९ हजार २७९ रुपैयाँ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट १० करोड ५ लाख १० हजार ६१९ रुपैयाँ कबोल गर्ने विनायक\एसपि\बोहोरा जेभि निर्माण कम्पनीसँग सम्झौता भयो,” खरिद प्रक्रिया र लागतका विषयमा जानकारी दिँदै सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले भनिन्, “परम्परागत निर्माण सामग्री र शैली पुननिर्माणको मुख्य विशेषता हो ।”
विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार सत्तल ५८३.८१ वर्गमिटर क्षेत्रफलको हुनेछ । हरेक तलाको क्षेत्रफल १९४.४७ वर्गमिटर छ । यसमा जमिन तलामा ९ वटा कोठा हुनेछन् । पहिलो तलामा ३ वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष हुनेछ । यस माथि बुइँगल हुनेछ । रिजालका अनुसार वि.सं. १९९७ सालमा खिचिएको तस्विरका आधारमा पुननिर्माण गरिन लागेको हो ।
मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल हुनेछ । पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेश द्वार हुनेछ । सत्तल झिँगटीको छानायुक्त हुनेछ । यसको विस्तृत परियोजना प्रतिवेदन सहरी योजना आयोगले तयार पारेको हो ।
सत्तल पुननिर्माणका लागि २०८० फागुन ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो । यसबाट ५ वटा प्रस्ताव पेश भएका थिए । यीमध्ये ४ वटाको प्राविधिक प्रस्ताव अस्वीकृत भए । निर्माण पक्षलाई गएको असार १९ गते कार्यादेश दिइएको हो । सत्तलको निर्माण अवधि २०८३ असार १९ गतेसम्म हो ।