राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्, गणतन्त्र हरेक किसिमले उत्तम छः प्रदीप ज्ञवाली
काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था भएको बताएका छन् ।
सोमवार ७४ औं मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गणतन्त्रमा जनताका अपेक्षाअनुसारका काम हुन नसकेको स्वीकार गर्दै गणतन्त्रको रक्षा गर्नु र अझै सशक्त बनाउनुको विकल्प नरहेको बताएका हुन् ।
उनले कतिपय पात्रहरुको कारणले गणतन्त्रमा सही शासन हुन नसकेको पनि बताए ।उनले नेपाली राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान नसक्ने इतिहासले पुष्टि गरेको पनि बताए ।
“नेपाली इतिहासले के देखायो भने राजतन्त्र र प्रजातन्त्र सँगसँगै जानसक्ने रहेनछन् । दुई पटक नेपाली जनताले त्यत्ति उदार मनले भागेर दिल्ली पुगेका राजालाई फर्काएर गद्दीमा राख्दा पनि र सम्पूर्ण रुपले पराजित हुने अवस्थामा भइहाल्यो नि त तिमीलाई सम्मान हुनेभयो । मदन भण्डारीको भाषामा भन्दा सेतो हात्ती पाल्न अलि बढी खर्च लाग्ला केही बात छैन तर जनताको अधिकारमाथि गिद्दे दृष्टि नलगाइयोस्, है भनेर त्यसरी सम्झौता गर्दा पनि पुरानै अवस्थामा उहाँ पुगिसकेपछि हामी यो निस्कर्षमा पुगेका हौँ की अब राजतन्त्र र प्रजातन्त्र सँगसँगै अघि बढ्न सक्दैनन्,”उनले भने ।
उपमहासचिव ज्ञवालीले क्रान्तिको लाभ जनताले पाउने सुनिश्चिचतासहित सरकारका काम कारबाही अघि बढाउन जरुरी रहेको बताए ।