स्वतन्त्रताप्रेमी नेपालीहरूको योगदानबाटै अहिलेको उपलब्धि सम्भव छः उपप्रधानमन्त्री सिंह
काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानका कारण अहिलेको उपलब्धि प्राप्त भएको बताएका छन् ।
मंगलादेवी सिंहको जन्म शताब्दीको अवसरमा उनको शालिकमा माल्यार्पण गर्दै उपप्रधानमन्त्री सिंहले भेला हुन पाउने, बोल्न पाउने अधिकार नेपालीहरुको योगदानकै कारण सम्भव भएको बताएका हुन् । उनले मंगलादेवी सिंह नेपाली महिलाहरूको अधिकार प्राप्तिका लागि आन्दोलनको अगुवाई गर्ने व्यक्ति भइको बताए ।
मंगलादेवी सिंहले नेपाली महिलाहरुको अधिकार र स्वतन्त्रताको लागि २०३६ सालमा जनमत संग्रहमा महिलाहरू एकीकृत गरेर बहुदललाई मत दिन आह्वान गर्न देशभर आन्दोलन र प्रचारप्रसार गर्नुभएको बताए । उनले ०४२ सालको सत्याग्रह र ०४६ सालमा भएको जनआन्दोलनमा २०१७ सालमा गुमेको उपलब्धी फर्काउन स्व. सिंहले अविष्मरणीय योगदान गरेकाे बताए ।
स्व. मंगलादेवीले आफ्नो जीवनकालमा पैतृक सम्पतीमा महिलालाई पनि अधिकार दिलाउनुपर्छ भनेर आवाज उठाएकाे बताए ।उपप्रधानमन्त्री सिंहले महिलाहरुको पनि पुरुषसरह अधिकार हुनुपर्ने मागसहित २००४ सालमा मंगलादेवी सिंहले गरेकाे योगदानको स्मरण गरे ।