७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा र्याली
काठमाडाैँ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा र्याली भएको छ ।
काठमाडाैँको माईतीघर, रत्नपार्क लगायतका स्थानमा मानवअधिकारवादीहरूले र्याली गरेका हुन् । र्यालीमा सहभागी हुँदै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आर्थिक, सामाजिक र वातावरणीय अधिकार, सीमान्तकृत समुदायका मानव अधिकार भन्ने नारासहित यस वर्षको ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइने बताए ।
उनले यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सीमान्तकृत व्यक्तिहरुलाई लक्षित गरिएको बताए । उनले संविधानमा सामाजिक न्यायको हकअन्तर्गत आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछि परेका व्यक्तिहरू महिला, दलित लगायत सीमान्तकृत व्यक्तिहरूको लागि पनि समानुपातिक, समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहभागिता हुनुपर्ने बताए ।उनले सीमान्तकृत समुदायले प्राप्त गर्न नसकेको अधिकारहरुको सुनिश्चितताका लागि आवाज उठाउनुपर्ने बताए ।
मानव अधिकारकर्मीहरूले घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार, जलवायु न्याय अहिलेको आवश्यकता लगायतका प्लेकार्ड बोकेर प्रदर्शनी गरेका छन् ।