२५ पुस २०८१, बिहिबार

एनपिएलः रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

प्रकाशित मिति :  10 December, 2024 1:33 pm


काठमडाैँ । कप्तान रोहित पौडेलको अल राउण्ड प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित हात पारेको छ । पाँचौं खेलमा पहिलो जित निकालेको लुम्बिनीले प्ले अफमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । 

जितको लागि १६८ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो । चितवन शुरूवातमा नै दबाबमा प¥यो । जब १६ रन मात्र बनाउँदा ३ विकेट गुमायो । विपिन रावल ५ रनमा आउट भए । यसपछि कप्तान रोहित पौडेलले सन्तोष कार्कीलाई १० रनमा र सोहेल तनवीरलाई १ रनमा पबिलियनको बाटो देखाइदिए । लुक बेन्केनस्टेन ३१ रनमा आउट भए । लगत्तै रोहितले रवि बोपरालाई विवेक यादवद्वारा क्याच आउट गरे । रोहितले यसपछि जान निकोललाई पनि मात्र ६ रनमा आउट गरे । यतिखेर चितवनले ६ विकेट गुमाउँदै ७९ रन मात्र बनाएको थियो ।

अमर राउटेला ६ रनमा र यसपछि कप्तान कुशल मल्ल पनि २० रनमा आउट भएसँगै चितवनको हार लगभग निश्चित भयो ।  यसपछि नर सार्कीले अविजित २२ र रिजन ढकालले अविजित १५ रन बनाएपनि चितवन १३४ रनमा समेटियो । 
बलिङमा रोहित पौडेलले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ४ विकेट लिए । 

पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । खराब शुरूवात गरेको लुम्बिनीले मात्र १ रन जोड्दा दुई ओपनर गुमायो । दोस्रो ओभरमा रिजन ढकालले ओपनर आशुतोष घिरोहियालाई १ रनमा र उन्मुक्त चन्द ० रनमा पबिलियनको बाटो देखाइदिए । शुरूवातमा नै दुई विकेट गुमाएर दबाबामा परेको लुम्बिनीले पावर प्लेमा २ विकेटको नोक्शानीमा ३३ रन मात्र बनायो । यसपछि अर्जुन साउद १५ रनमा र टम मोर्स १० रनमा आउट भए ।

यतिखेर लुम्बिनीले चार विकेटको नोक्शानीमा ४९ रन जोडेको थियो । संघर्ष गरेको लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सुझबुझपूर्ण ब्याटिङ गरे । रोहित र साद बिन जाफरले पाँचौं विकेटको लागि शतकीय साझेदारी गरे । उनीहरूले ११४ रनको साझेदारी गर्दा दुवैले अर्धशतकीय पारी खेले । रोहितले ४२ बलमा अर्धशतक पूरा गरे । उनले ५७ बलको सामना गर्दै ६ चौका र ५ छक्कासहित ८० रनको उत्कृष्ट पारी खेले । सादले ३५ बल खेलेर ४ चौका र १ छक्कासहित ५२ रन बनाए । बलिङमा रिजन ढकालले सर्वाधिक ३ विकेट लिए । 

पाँच खेलमा चितवनको यो दोस्रो हार हो । उसँग ६ अंक रहेको छ । पाँचौ खेलमा पहिलो जित निकालेको लुम्बिनीले अंकको खाता खोलेको छ । पाँच खेलबाट २ अंक जोड्दै लुम्बिनीले प्ले अफको झिनो संभावनालाई कायमै राखेको छ ।



प्रतिक्रिया दिनुहोस !