आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमै रोजगारी दिन्छौँः मन्त्री भण्डारी
काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमा रोजगारीको वातावरण बनाइने बताएका छन् ।
बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संरचनाको चरणमा रहेको उल्लेख गरेका हुन् । मन्त्रालयको संरचना निर्माणका लागि ओएनएमको प्रस्ताव मन्त्रीपरिषद्मा पुगेको बताए ।
उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको मात्रै काम गरेको जस्तो देखिएकाले मन्त्रालयअन्तर्गत आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको बताए ।
उनले सरकारले रोजगार दिने नभइ रोजगारीको वातावरण मात्रै निर्माण गरिदिने र रोजगारी निजी क्षेत्रले दिने बताए। उनले मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजेर प्रवद्र्धन गर्ने, अघि बढाउने काममा आफूहरू लागिपरेको बताए ।
“विशेष गरी अहिले हामीले रोजगार क्षेत्रमा दुई वटा कुरा गर्न खोजेका छौँ । आन्तरिक रोजगार र वैदेशिक रोजगारको कुरा छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कहिले कहिले नाम नै अर्को गर्ने की भन्ने पनि कुरा आउँछ । किनभने यो मन्त्रालयले वैदेशिक रोजगारको काम मात्रै गरेको छ । वैदेशिक रोजगार मन्त्रालय मात्रै बनाउने हो की भन्नेकुरा पनि कहिले कहिले आउँछ । मन्त्रालयको संरचना हेर्ने हो भने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार बोर्ड छ । तर आन्तरिक रोजगारमा कहीँ केही छैन । कसले हेर्ने ? त्यसैले अहिले हामी ओएनएमको चरणमा छौँ ,” उनले भने ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट सीप सिकेर आएका व्यक्तिहरू नेपालका लागि उपयुक्त जनशक्ति भएको बताए ।