१७ पुस २०८१, बुधबार

संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता हुन्छः स्वास्थ्यमन्त्री पौडेल

प्रकाशित मिति :  12 December, 2024 4:50 pm


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता गर्नेगरी मन्त्रालय अघि बढेको बताएका छन् ।

बिहीवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले औषधिको सन्दर्भमा पूर्ण रूपमा कानूनी प्रवन्ध नभएको बताएका हुन् ।उनले औषधि सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको भन्दै विधेयकमा औषधिका विषयमा धेरै कुराहरु समेटिएको उल्लेख गरे ।

उनले नेपालमा १७३ कम्पनीहरूबाट स्वदेशी औषधि उत्पादन भइरहेको र त्यसबाट नेपाललाई आवश्यक पर्ने ५० प्रतिशत औषधि मात्रै पूर्ति गर्न सकिएको उल्लेख गरे ।उनले बाँकी औषधि पूर्ण रुपमा आयात गर्नुपर्ने स्थिति रहेको बताए । मन्त्री पौडेलले औषधिमा आत्मनिर्भर हुनेकुरा जटिल रहेको बताए ।

उनले बढी औषधि आयात गर्नुपर्ने अवस्था रहेको र जटिल रोगका औषधिहरू आयातबाट नै आवश्यकता पूरा गर्नुपर्ने अवस्था रहेको बताए । उनले स्वदेशी औषधि उत्पादन गर्न प्राथमिकताका साथ कानूनहरु बनाइ प्रवद्र्धन गर्न जरुरी रहेको बताए । मन्त्री पौडेलले संघीय सरकारअन्तर्गतका अस्पतालमा औषधिको मूल्य सार्वजनिक रुपमा टाँस गर्न आग्रह गरिएको बताए ।

समितिको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले सरकारले निःशुल्क वितरण गर्ने भनिएका औषधिहरू लुकिछिपी विक्री भइरहेको भन्दै मन्त्री पौडेलको ध्यानाकर्षण गराए । उनले सरकारले निःशुल्क भएका औषधिको लुकिछिपी विक्री वितरण गर्नेहरुमाथि निगरानी गर्न आवश्यक भएको बताए । अस्पतालको अगाडि खोलिएका फार्मेसीहरुमा मन्त्रालयको निगरानी बढाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !