कम्बोडिया–भैरहवा सिधा उडान गर्न कम्बोडियाली समकक्षीलाई पर्यटनमन्त्री पाण्डेको प्रस्ताव
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएका शिष्टाचार एवं विदाई भेटघाटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् ।
मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकोबारे समेत जानकारी गराएका थिए । यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी “बौद्ध सर्किट“ को विकास गर्न सकिने, पर्यटन प्रवर्द्धनका लागि दुवै देशका वीचमा कला, संगीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरु र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने लगायतका विषयमा छ्लफल भएको मन्त्री पाण्डेको सचिवालयले जानकारी दिएको छ ।
यस्तै दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना,सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावना लगायतका विषय समेत दुई मन्त्रीबिच छलफल भएको थियो । संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता समेत दिएका थिए ।