संस्कृतिको जगेर्ना फुटेर होइन, जुटेर गरौँः उपप्रमुख डंगोल
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संस्कृतिको जगेर्ना गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन् ।
आइतवार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन र देशको संस्कृतिको जगेर्ना गर्न फुटेर नभइ सबै जुटेर अघि बढ्नुपर्ने बताएकी हुन्। उनले ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका विभिन्न जातजातिका पर्वहरुको उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरिन् ।
उनले देशभरका विभिन्न जातजातिका पर्वहरूलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताइन् । सांस्कृतिक महत्व बोकेका पर्व, जात्रा सँगसँगै बोलिने भाषा र लेखिने लिपीलाई जीवित राख्नु आजको आवश्यकता भएको बताइन् ।
“हामीले देशलाई आर्थिक रूपमा अघि बढाउन र देशको संस्कृतिको जगेर्ना गरिरहने हो भने फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ । सबैजना एकजुट भएर लाग्नुपर्छ । ज्यापु समुदायका विभिन्न संस्कृतिमात्र नभएर नेवारसमुदायभित्र रहेका पनि विभिन्न जातजातिका पर्वहरुको उत्तिकै महत्वपूर्ण भुमिका छ । यि सबै पर्वलाई हामीले एकजुट भएर मान्ने र देशभरका विभिन्न जातजातिका पर्वहरुलाई पनि उत्तिकै महत्व दिनुपर्छ । सांस्कृतिक महत्व बोकेका पर्व, जात्रा सँगसँगै हामीले बोलिने भाषा, लेखिने लिपीलाई पनि जीवित राख्नु आजको आवश्यकता हो,” उनले भनिन् ।
उपप्रमुख डंगोलले नेपालका संस्कृतिहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्दै लैजानुपर्नेमा जोड दिइन् ।