कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहन्छौँ : मन्त्री भण्डारी
काठमाडाैँ । दक्षिण कोरियाको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको बताएका छन् ।
नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा कोरिया स्थित नेपाली राजदूतावास र बुसान च्यामबर अफ कमर्स कोरिया द्वारा आयोजित कार्यक्रमको सम्बोधन गर्दै उनले कोरियन लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । उनले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।
आगामी दिनमा नेपाल र कोरियाबिचको आपसी सम्बन्ध थप उचाइमा पुराउनुपर्ने बताउँदै उहाँले नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गरे । महत्त्वपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौतिक विकास, ज्ञान, सिप र प्रविधिलाई नजिकबाट नियाली रहेको र कोरियामा भइरहेको विकासबाट नेपालीहरूलाई थप लाभान्वित गर्न चाहेको उनले बताए ।
मन्त्री भण्डारीले नेपाली युवालाई रोजगारी प्रदान गरेकोमा इपियस कोरिया र कोरिया सरकारलाई धन्यवाद व्यक्त गरे । उनले भने,”नेपाली युवाले यहाँ गरेको आम्दानी र सिकेको सिपलाई सदुपयोग गरी नेपालमा उत्पादन र रोजगारीका अवसर बढाउन तर्फ लागेका छौँ ।”
कोरिया सरकारका मन्त्रीसँग उद्योगमन्त्री भण्डारीले व्यापार तथा लगानी सम्झौता गर्न लागेको उनको भ्रमणदलमा रहेका प्रमुख स्वकिय सचिव आनन्द भट्टले बताए ।