सांसदहरू निजी काममा बढी सक्रिय हुँदा कानून निर्माणमा ढिलाई भइरहेको छः सभामुख घिमिरे
काठमाडाैँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानून निर्माणको सवालमा संसदीय समिति र सांसदहरूले जागरुकताका काम गनुपर्ने बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सांसदहरू निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने गरेका कारण संसदीय समितिमा कोरम नपुग्ने समस्या रहेको बताएका हुन् ।
उनले सांसहरू संसदप्रति उत्तरदायी नभएको टिकाटिप्पणीहरू भइरहेको उल्लेख गर्दै संसद र समितिहरूलाई प्रभावकारी बनाउन सबै संसदहरूले भुमिका खेल्न जरुरी रहेको बताए । उनले संघीयता कार्यान्वयनको सवालमा प्रश्नहरू उठिरहेको उल्लेख गर्दै संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानून निर्माण गर्न निरन्तर छलफल गरिरहेको बताए ।
उनले विद्यालय शिक्षा विधेयक र संघीय निजामति विधेयक छिटो ल्याउन आफूले निरन्तर निर्देशन दिइरहेको बताए । उनले संसदीय समितिहरूमा धेरै विधेयक नभए पनि संसदहरूको ध्यान नपुग्दा कानून निर्माणमा ढिलाई भइरहेको बताए । उनले संसदीय पत्रकारिताले संसदमा भएका समस्याहरू र त्यसको महत्व उजागर गर्न महत्वपूर्ण भुमिका खेल्दै आएपनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा गर्न नहुने क्रियाकलापहरू बढ्दै गएको बताए ।
सञ्चार क्षेत्रले समाचार संप्रेषणका क्रममा सहि सूचनालाई सही ढंगले संप्रेषण गर्नुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले संसदीय गतिविधि, संसदका समस्याहरुलाई पत्रकारिता क्षेत्रबाट उजागर भएपछि मात्र सच्याउन सकिने भएकाले संसद सेवालाई प्रभावकारी बनाउन संसदीय पत्रकारितालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।