प्रदेशको शैक्षिक नतिजा सुधार्न निर्मम समीक्षा जरुरी छ-मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारका लागि निर्मम समीक्षा आवश्यक रहेको बताएका छन् ।
जनजागृति माध्यमिक विद्यालय तिलोत्तममा नगरपालिका–२ योगीकुट्टीको ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयको नतिजा र गुणस्तर सुधार गर्न निर्मम समीक्षा गर्नुपर्ने बताएका हुन् ।
‘‘नतिजा खस्कनुको पछाडिको कारण खोज्नुपर्ने, त्यसका लागि शिक्षा विज्ञहरुले भूमिका बढाउनुपर्ने र सुधारका विकल्पहरु अघि सार्न आग्रह गरे । लुम्बिनी प्रदेशको गतवर्षको एसईईको नतिजाले झस्काएको छ । त्यसलाई सुधार गरेर अघि जानुपर्ने छ । यसका लागि निर्मम समिक्षा गरेर जानुपर्ने छ’’, उनले भने, ‘‘गतवर्षको नतिजाले चिन्तित बनाएको छ ।’’
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न परम्परागत कक्षाकोठालाई रुपान्तरण गरेर आधुनिक प्रविधिसँग जोड्न जरुरी रहेको धारणा मुख्यमन्त्री आचार्यले राखे ।
‘‘अब परम्परागत रुपमा सोचेर हुँदैन । हाम्रा शिक्षण विधि तथा क्रियाकलापलाई प्रविधिसँग जोड्न जरुरी छ । कक्षाकोठाको रुपान्तरण पनि सोहीअनुसार गर्न आवश्यक छ’’, मुख्यमन्त्री आचार्यले भने, ‘‘अबको शिक्षालाई व्यवसायिक र प्राविधिक बनाउनुपर्छ । पढ्दापढ्दै स्वरोजगार हुनेगरी शिक्षा प्रणाली आजको आवश्यक हो ।’’
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी र विद्यालयप्रति अभिभावकले निगरानी बढाउनुपर्ने समेत बताए । विद्यार्थीको पढाइप्रति रुचि घट्दै जानु र विद्यालयमा पठनपाठनको वातावरण बनाई राख्न अभिभावकले नियमित निगरानी राख्नुपर्ने आवश्यकता मुख्यमन्त्री आचार्यले औंल्याए ।
‘‘विद्यार्थी किताबमा भन्दा सामाजिक सञ्जालमा बढी भुल्न थाले । यसले शिक्षण सिकाईमा असर पारेको छ । विद्यार्थीलाई कितावमा रुची बढ्नेगरी सिकाइको वातावरण बनाउनुपर्छ । अभिभावकले आफ्ना छोराछोरीको आनिवानी र साथसंगतलाई अनुगमन गर्न जरुरी छ’’, उनले भने, ‘‘के कारणले छोराछोरीको पढाइ विग्रिरहेको छ ? यसको कारण अभिभावकले पनि खोज्न जरुरी छ ।’’