पूर्व प्रमुख सिंहको पार्थिव शरीरमा महानगरपालिकाका प्रमुख शाह र उपप्रमुख डंगोलबाट श्रद्धाञ्जली अर्पण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका पूर्व प्रमुख पिएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आज विहान चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उनीहरूले पूर्व प्रमुखको पार्थिव शरीरलाई विदाइ र शोक सन्तप्त परिजनमा समवेदना प्रकट गरे । उनीहरूसँगै प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजकहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु र कर्मचारीहरुले पुष्पगुच्छा अर्पण गरेका हुन् ।
पूर्व प्रमुख सिंहको ८८ वर्षको उमेरमा आज विहान निधन भएको हो । पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी निवासमा आराम गर्नुहुन्थ्यो । पेटमा अल्सर भएपछि गएको वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।
वि. सं. १९९६ चैत ११ गते जन्मिएका सिंह २०४९ सालमा भएको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाका प्रमुखका रुपमा निर्वाचित भएका थिए । उनकै कार्यकाल २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।
सिंहले राजनीतिक र सामाजिक जीवनबाट रुपान्तरणका लागि गर्नुभएको योगदानको सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले आज शोक विदा दिएको छ ।