काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौंः मन्त्री यादव
काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार लागि परेको बताएका छन् ।
मंगलवार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको अनुगमका क्रममा बोल्दै खानेपानीमन्त्री यादवले उपत्यकाको खानेपानीको समस्या समाधानका दीर्घकालीन योजना बनाएर सरकार अगाडि बढिरहेको बताएका हुन् । उनले मेलम्चीको पानी वर्षमा आठ महिना मात्र काठमाडौं आउने भएका कारण समस्या भइरहेको उल्लेख गर्दै त्यसको समाधान खोजिरहेको बताए ।
उनले काठमाडौँ उपत्यकामा २४ सै घण्टा पानी उपलब्ध गराउनको लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको र त्यसको लागि टेण्डर आह्वान भइसकेको समेत बताए ।
“उपत्यकामा खानेपानीको समस्या हुन नदिनको लागि हामीले ठाउँठाउँमा अनुगमन गरिरहेका छौं । अहिलेको नयाँ टेक्नोलोजीअनुसार काम गरेको पाइपलाइनहरुको पनि हामीले अनुगमन गरिरहेका छौं । आउने दिनमा उपत्यकामा कुनैपनि खानेपानी समस्या हुन नदिनका लागि दीर्घकालीन रूपमा योजना बनाएर पनि हामी अगाडि बढेका छौं । तर अहिले हामीले मेलम्चीको पानी वर्षमा ८ महिना मात्र वितरण गरिरहेका छौं,”उनले भने ।