१२ पुस २०८१, शुक्रबार

पौष १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै

प्रकाशित मिति :  18 December, 2024 1:01 pm


काठमाडाैँ । पर्यटकीय नगरी पोखरामा पौष १३ गतेदेखि १७ गतेसम्म २६ औं पोखरा सडक महोत्सव २०२४ हुने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रेष्टुरेण्ट एण्ड बार एसाेसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पर्यटनको राजधानी पोखरामा रेवानले विगत २५ वर्षदेखि निरन्तर रुपमा सडक महोत्वस गर्दै आएको छ । यो वर्ष पनि विगतमा जस्तै अंग्रेजी नयाँ वर्षको अवसर पारेर २६ औं पोखरा सडक महोत्सव २०२४ गर्ने लागेको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । उनले आन्तरिक तथा वाह्य पर्यटकलाई अग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा लेकसाइड क्षेत्रको करिव ३ किलोमटिर क्षेत्रमा महोत्वस आयोजना हुने उल्लेख गरे ।

उनले ‘सडक मै खाउँ,सडक मै नाचौं, सडकमै रमाउँ’भन्ने उद्देश्यले सडक महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सवले पोखराको कला\संस्कृति प्रवद्र्धन गर्न,स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र प्रचारप्रसार तथा ब्राण्डिङ गराउन पोखरा सडक महोत्वसले महत्वपूर्ण भुुमिका खेल्ने बताए ।

उनले सडक महोत्वसले स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान,विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउने उल्लेख गरे । उनले महोत्सवमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम,मौलिक भेषभुषा प्रदर्शन,झाँकी प्रदर्शन प्रतियोगिता,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन,लाइभ कन्सर्ट लगायत मुख्य आर्कषण रहेको बताए ।

पाँच दिनसम्म चल्ने महोत्सवमा करिव ५ लाख आन्तरिक तथा वाह्य पर्यटक आउने आँकलन रहेको आयोजकले जनाएको छ । अंग्रेजी नयाँ वर्षको लागि पोखराका होटलहरू करिब ४० प्रतिशत बुकिङ हुन थालेका छन् ।

महोत्सवसमा रेष्टुरेण्ट अगाडि आफ्नै स्टलहरु राख्ने र महोत्सव क्षेत्रमा बाहिरबाट आउन नपाउने व्यवस्था गरेको छ । नयाँ वर्षको लागि पोखरामा ७ सय बढी होटलमा ५० हजार बेडहरू उपलब्ध रहेको रेवानले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !