प्रेमको आदर्शलाई बचाउन नसकेको ‘का. जलजला’
नविन अभिलाषी,
अध्ययनपश्चात् कुनै पनि पाठकले यो उपन्यास एक शब्द वा एक वाक्यमा राम्रो वा नराम्रो, ठिक वा बेठिक भनेर भन्न पाउँदैन, सक्दैन । एक हजार तीन सय २० पृष्ठको किताबमा भनिन्छ कि पाँच लाख शब्दहरु छन् । स्वभाविक छ किताब विशाल छ । पाँच सय बढि पात्रहरु खेलेको यो उपन्यास एक प्रकारले जटिल पनि छ ।
प्रगतिशील स्रष्टा तथा सौन्दर्य शास्त्री, वामपन्थी आन्दोलनका शिखर व्यक्तित्व मोहन विक्रम सिंहले ९० वर्षको उमेरमा आएर प्रकाशित गरेको उपन्यासले उनका २३ वर्षहरु खाएको छ । उपन्यास छिचोल्दै जाँदा सिंहको बेजोड मेहनत प्रष्ट देख्न सकिन्छ । यद्यपी काम गर्नुपर्ने तमाम विषयहरु उपन्यासमा थिए ।
—— —– —– —– —–
झट्ट सुनिएको र सञ्चार माध्यममा प्रचार गर्दा यो उपन्यासलाई मोहन विक्रम सिंहले आफ्नो दिवंगत प्रेमिका का. जलजला उर्फ विद्या ढकालको स्मृतिमा लेखिएको भनिन्छ । त्यो विलकुल ठिक छ, तर त्यतिले मात्र उपन्यासको परिचय पुग्दैन, लेखक सिंहले कतै भनेका छन्, ‘यसमा प्रेम प्रशंग थोरै छ ।’ त्यसो भए उपन्यासमा के छ ? उपन्यासमा विश्व दर्शनको ठेलमठेल छ । नेपाल, भारत, चीनदेखि रुस, फ्रान्स, जर्मनी, युनानको भूगोल छ । राजनीतिक इतिहास छ । कम्युनिष्ट शासन सत्ताको उदय र पतनको नालीबेली छ ।
नेपाली साहित्यमा कुन उपन्यासलाई के आधारमा सबैभन्दा ठूलो मान्ने भन्ने निर्क्यौल भएको छैन । यसभन्दा अगाडि भवानी भिक्षुको ‘आगत’ र ममदिको ‘माधवी’लाई ठूलो उपन्यास मान्ने हो भने त्यो भन्दा ‘का. जलजला’ निशन्देह विशाल छ ।
उपन्यासले यति मात्र भन्दैन, हिमवतखण्डअन्तर्गत् भारतको पश्चिम उत्तरको भूगोल, पूर्वमा आसामदेखि नेपालको काठमाण्डौ र मध्यपश्चिमको पहाड तथा तराईको भौगोलिक वर्णन छ । अझै विस्तृतमा भन्ने हो भने कुमाउ गढवालदेखि दाङ, प्यूठान, रोल्पा हुँदै चितवन, भैरहवा र भारतका बनारसका विभिन्न क्षेत्रको वर्णन छ ।
उपन्यासबाट दर्शन, स्थान र विषय वर्णनजस्ता अध्याय निकाल्ने हो भने किताब पाँच सय पृष्ठमा झर्न सक्छ । किनभने रामापिथेकस, होमो सेपियन्स, लुम्बिनी, चिपको आन्दोलन, पेरिस, जर्मन, रुस, युनान र भारतका विभिन्न स्थानको एकोहोरो भूगोल वर्णन र व्याख्यामा उपन्यास लामो छ । वास्तविक रुपमा कथा छोटो भए पनि कथा निर्माण, त्यसको बनोट र बुनोट निक्कै सुन्दर र तारिफ योग्य छ ।
सम्वतको २०११ देखि २०४३ सम्मको पन्चायत राजनीति र त्यसमा देखा परेका सामाजिक, राजनीतिक व्यक्तिहरुबाट उपन्यासको कथा निर्माण भएको छ । जस्तैः निर्मल लामा, चित्रबहादुर केसी, रश्मीराज नेपाली, प्युठानका खगुलाल गुरुङ, संस्कृतिविद् सत्यमोहन जोशी, पारिजात इत्यादि । तर यी पात्रहरु उपन्यासमा देखिए पनि कथाको प्रमुख कडि सुनन्दा, अजित, विद्या, जलजला र जगदिशभित्रै छ ।
किताबको नाम ‘का. जलजला’ राखिनुमा लेखकको व्यक्तिगत भावुकता हावी छ । नारायण गोपालले ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा…’ भनेर गाए जस्तो मोहन विक्रम सिंहकझ जीवनमा प्रेमसहित देखा परेकी आफ्नै कार्यकर्ता ‘जलजला उर्फ विद्या ढकाल उर्फ किरण शर्मा’सँगको भावनात्मक सामिप्यता र उनको असामहिक अन्त्यको उच्चाहटबाट विशाल उपन्यास निर्माण भएको छ । तर उपन्यासको प्रमुख पात्र न ‘का जलजला’ हुन्, न त उनको कथा नै प्रमुख बनेर आएको छ । प्रारम्भमा ‘जलजला’ पात्रलाई सस्पेन्स बनाइएको छ । तर बीचमा निक्कै कम समयको लागि जलजला देखा पर्छिन र अस्त हुन्छिन् । बरु यो कथा सुनन्दाको हो ।
भारतको कुमाउकी सौका जातीकी यी दृढ स्वभावकी सुन्दरी सुनन्दाबाटै उपन्यासको कथा प्रारम्भ हुन्छ र अन्त्य । विचित्र लागेको के भने, सुनन्दाले नै कथाको अन्त्यमा का. जलजलाको स्थानमा उभिन आइपुग्छिन्, यहाँसम्म कि जलजलाको मृत्युपश्चात भावग्रस्त बनेको अजितसँग सुनन्दाको विहे भएपछि कथाको मात्र मृत्यु हुँदैन, जलजलाको पनि वास्तविक रुपमा मृत्यु हुन्छ र अजितको प्रेमिल आदर्श धुलिसात ।
उच्च आदर्श, सिद्धान्त र प्रेमको भावुकताको लम्बेतान व्याख्याबाट निर्माण भएको भनिएको यो उपन्यासले अजितमार्फत प्रेमको आदर्शलाई सिध्याउछ । प्रेमको सत्व र आदर्श नै च्यूत भएको प्रेम पनि के प्रेम ? मलाई थाहा छैन लेखकले यो विषयलाई जीवनभर कसरी हेरेँ । तर मैले यो उनको व्यक्तिगत विषय हो भनेर मान्न तयार छैन ।
तर गज्जबको कुरा के भने अजित भनिने पात्र उनै मोहन विक्रम सिंह हुन् भनेर उपन्यासले रहस्य खोल्दैन ।मध्ययुगीन यूरोपको सबैभन्दा चर्चित र मर्मस्पर्शी अवेलार्ड (Peter Abelard) र हेलोइस (Héloïse) को वास्तविक प्रेम कथासँग लेखकले आफ्नो प्रेम कथालाई तुलनात्मक व्याख्या गर्न खोजेका छन । जसले प्रेम, ज्ञान, बलिदान र समाजको कठोर नियमहरूसँग लडाइँको कथा प्रस्तुत गरेको छ । तर विडम्वना यहि नै हो कि अतिज उर्फ मोहन विक्रम सिंहको प्रेमको कुनै औचित्य रहेन ।
यो उपन्यास सैद्धान्तिक रुपमा सबैबढि च्यूत भएको यहिँ नेर हो । का. जलजलाप्रति गम्भिर श्रद्धा छ । उनको प्रेम लत्याइएको प्रति खेद ।
—— —– —– —– —–
उपन्यासले सामाजिक चरित्रलाई उदाङ्गो बनाइदिएको छ । नेपाली समाजमा देखा परेका आदर्श र सिद्धान्त च्यूत व्यक्ति तथा प्रवृतिहरुलाई गज्जबसँग उल्लेख गरेको छ । कम्यूनिष्ट आन्दोलनबाट स्खलित भएर राजावादी तथा दक्षिणपन्थी बनेका केशरजङ्ग रायमाझीको कूरा होस्, या धन-दौलतको भवसागरमा पनि अतृप्त बनेका दिब्या जस्ता पात्रहरु ।
रुसमा बसेर पनि कम्यूनिष्ट संशोधनवादमा विश्वास गर्ने डा. जगदिशका चरित्रहरुदेखि सम्वतको २०११ तिर प्यूठानमा देखा परेका सामन्त, मुखिया र जिम्वालहरुको चरित्रहरु मिहिन रुपमा उठेको छ । यस्ता चरित्रहरुको विरुद्धमा ७० वर्षअघिदेखि सुरु भएको निषेधको आन्दोलनले अहिले पनि कुनै तात्विक प्रगती गर्न नसकेको परिप्रेक्ष बढो विडम्वनापूर्ण छ ।
उपन्यासले वैश्विक राजनीतिक इतिहासलाई तुलनात्मक विश्लेषण गरेको छ । तर यो विश्लेषणले वर्तमान समयलाई समेट्न नसकेको अनुभूति हुन्छ । त्यसो त नेकपा मसालको नेतृत्व गरिरहेका सिंहको आफ्नै सैद्धान्तिक व्याख्याले काम गरेको हुनुपर्छ । किनकी रुसको विघटित समाजबाद र चीनको प्रतिक्रान्तिलाई मात्र एउटा हरफमा व्याख्या गरेर पुग्दैन ।
नारीवादी दृष्टिकोणबाट पनि यो किताब सशक्त छ । यसले नारीलाई प्रमुख पात्र बनाएको छ । सुनन्दा, जलजला, विद्या, दिव्या, सरस्वती र योगमाया जस्त पात्रहरु मार्फत नारीहरुले नेपाली समाजमा बाँच्नुपरेको नारकिय जीवनलाई वेप्रवाह लेखिएको छ ।
हर्के र उर्मिलाको अन्तरजातीय प्रेम र विवाहले नेपाली समाजको जातीय विभेदको चरित्रलाई उदाङ्गो पारेको छ । आदिवासी जनजाति र राउटे तथा कुसुण्डा जस्ता लोपोन्मुख समुदायका विषयहरु पनि उपन्यासले उठाएको छ ।
भौतिकवादलाई बलियो गरेर समाएको उपन्यास हो यो । त्यसो त मोहन विक्रम सिंह र उनलको सैद्धान्तिक आदर्श नै द्वन्दात्मक भौतिकवादमा आधारित छ । पृथ्वीको उत्पत्ती तथा जीवनको उदय बारे उनले भौतिकवादी दृष्टिकोणबाट व्याख्या गरेका छन् । स्वैर काल्पनिकता निर्माण गरेर खगोल र व्यापक पिण्डहरुको अध्ययन लेखेका छन् । पृथ्वीको बोटविरुवादेखि सुपर क्लस्टरका विषयहरु समेत तथ्याङ्कका आधारमा राखेका छन् ।
—— —– —– —– —–
अन्त्यमा
म भाषिक शुद्धतामा खास जानकार होइन, र पनि मलाई तमाम ठाउँ बिझ्न पुग्यो । नोट गरिसाध्य नहुने गरेर भाषिक शुद्धतामा समस्या छ । एउटा राम्रो र महान भन्न सकिने किताबले राम्रो सम्पादक नपाउँदा कुन हालत हुन्छ भन्ने थाहा पाउन यो किताब हेरे हुन्छ ।
हरफहरु दोहोरिनु, विषयहरु पुनरावृत्त हुनुलाई सामान्य मानेर हेर्ने हो भने पनि एउटा सिंगो च्याप्टर हुबहु दोहोरिएको छ । पृष्ठ नम्बर ६५८ देखि ६७० सम्मको सम्पूर्ण कथा पृष्ठ ७८९ देखि ८०० सम्म दोहोरिएको छ । यो गम्भीर त्रुटिका रुपमा लिनुपर्छ ।
मगर, थारु, राउटे लगाएतका विभिन्न समुदाय माथि लेखिएका विषयहरुले स्रोत माग्छन् । दाङका पण्डित टेकनाथ गौतमले लेखेको थारु पुराण नामक किताबले थारु समुदायमाथि लगाएको लाञ्छनालाई महेश चौधरी लगाएतका थारु विद्वानहरुले चिर्न गरेको कोसिसलाई यो उपन्यासले असफल बनाइएको छ । पण्डित गौतमकै तर्कलाई अझ विस्तृत बनाएको छ । एक पटक यो किताब थारु जानकारहरुले पढ्दा राम्रै होला ।
गेब्रियल गार्सिया मार्खेजको सन् १९६७ मा प्रकाशित One Hundred Years of Solitude लाई बीशौ शताब्दीका लागि पुग्ने किताबका रुपमा घोषणा गरेको थियो । मलाई थाहा छैन, यो किताबले नेपाली साहित्यमा कति अर्थ राख्छ, तर लाग्छ केहि त जरुर अर्थ राख्छ ।।
यो किताब अध्ययनका लागि सहयोग गर्नुहुने साहित्यकार सागर गैरे र कवि केशव निमेषलाई हार्दिक धन्यवाद ।